|

दमक  :  सोमबार पानीसँगै आएको हावाहुरी र असिनाका कारण दक्षिणी झापाको ग्रामीण क्षेत्रमा घर भत्कँदा २ सय बढी घरपरिवार विस्थापित भएका छन्। सोमबार अपरान्ह आएको हावाहुरीले घर भत्काएपछि रातभर स्थानीयको जनजीवन कष्टकर भएको हो। हावाहुरी र असिना पानीले तत्कालिन पाँचगाछी, महाभारा, कोरोबारी, बैगुनधुरा, तोपगाछी लगायतका क्षेत्रका २ सय बढी घरपरिवार विस्थापित भएको स्थानीयवासीले जनाएका छन्।

घरको जस्तापाता र रुखहरु ढल्दा घाइते भएका ५ जना दमकका विभिन्न अस्पतालमा उपचाररत छन्। १५ जना सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचारपछि फर्किएको रेडक्रस उपशाखा पाँचगाछीले जनाएको छ। उपशाखाका सचिव राजु श्रेष्ठका अनुसार सो क्षेत्रमा सय बढी विद्युत्का पोल र रुखहरु ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ।

पाकेको चैते धानमा असिना पानीले असर परेको स्थानीय कोरोबारी एकका रघुनाथ निरौलाले बताए। कतिपय रुख मान्छेका घरमाथि ढलेर भत्किए पनि मानविय क्षति भने भएन। दमककको लाइफलाइन अस्पतालमा उपचाररत पाँचगाछी नयाँ बजारका ७० वर्षीय पैकनलाल ताजपुरीयाका छोरा आनन्द ताजपुरियाले एक्कासि आएको हावाहुरीले सर्वसाधरणको बिजोग भएको बताए।

उनले भने, ‘गाउँभरिका घरमा क्षति पुगेको छ, लाइन पनि छैन, बाटोमा रुख लढेकाले हिँडिसक्नु छैन।’ हुरीले पाँचगाछीस्थित पाथीभरा बोर्डिङ्ग स्कुलको सबै संरचना भत्काएको छ।

दिउँसो पठनपाठन भइरहेको बेला आएको हावाहुरीका कारण कतिपय बालबालिकाहरु जस्तापाताले लागेर घाइते भएको बताइएको छ। घाइतेको पूर्ण विवरण भने आउन बाँकी छ। विद्यालयको पठनपाठनसमेत अवरुद्ध भएको छ। रेडक्रस झापाले आजदेखि प्राभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.