|

काठमाडौँ: स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मानेर सामाजिक सञ्जालमा विभिन्न व्यंग्यात्मक ट्रोल पोष्ट भएका छन्। स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा एमालेले अग्रता लिइरहेको छ। कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमै छ।

यही सन्दर्भलाई इंगित गर्दै फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माअोवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको फोटो क्रमश: राखेर गीत गाएको देखाइएको छ।

उखान टुक्कामा खप्पिस एमाले अध्यक्ष ओलीले भरतपुर महानगरपालिको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस र माओवादी केन्द्रको तालमेललाई व्यंग्य गर्दै भनेका थिए, 'यिनीहरूको तालमेल अचम्मको छ, कहिले टाउकाको मोल तोक्छन्, कहिले छोरीलाई टाउकोमा बोक्छन्।' त्यसलगत्तै काठमाडौँमा उनले स्थानीय तहको मत परिणामपछि कांग्रेस र माओवादी 'झोक्र्याउने' बताए। एमालेले अग्रता लिएपछि अझै उखान टुक्का आउने भन्दै एमाले अध्यक्ष ओलीलाई समेत व्यंग्य गरी ट्रोल पोष्ट भएको छ।

यता गाउँगाउँमा सिंहदरबार पुर्‍याउने नारा र घोषणापत्रमा फ्री वाइफाईको एजेण्डा लिएर चुनावमा होमिएको माओवादी केन्द्र शहरी क्षेत्रमा बलियो उपस्थितिमा छैन। माओवादी केन्द्रको मत परिणाम खस्किएपछि फ्री वाइफाई नाराको सहारा लिएर व्यंग्य गरिएको छ।

संसदको चौथो ठूलो शक्ति राप्रपाले डोल्पाको ठूलीभेरी नगरपालिकामा उपमेयर र काइके गाउँपालिकामा उपाध्यक्षबाहेक अन्यत्र उपस्थिति जनाउन सकेको छैन। गाई चुनाव चिह्न लिएर चुनावमा होमिएको राप्रपाको उपस्थिति न्यून भएपछि गाई खोलाले बगाएको भन्दै व्यंग्य गरिएको छ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई दिन हुँदा पनि मतगणना सन्तोषजनक रूपमा हुनसकेको छैन। मत गणनामा भइरहेको ढिलाइप्रति लक्षित गर्दै मत परिणाम भन्दा पहिले महानगरका उम्मेदवारले ल्याउने मोनो रेल छिटो आइपुग्ने संभावना देखिएको भन्दै व्यंग्य गरिएको छ।

 

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी कान्छी उम्मेदवार रञ्जु दर्शना मत परिणाम कुर्दाकुर्दै बुढी भएको फोटो पोष्ट  गरेर मत गणनाको ढिलासुस्तीप्रति व्यंग्य गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.