|

  • प्रकाश पार्की-

डडेल्धुरा: प्रदेश नम्बर ७ मा पछिल्लो एक महिनामा सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वैशाख महिनाभर भएका १८ वटा सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परी २७ जना घाइते भएको कार्यालयले जानकारी दिएको छ। प्रदेश नम्बर ७ मा सबैभन्दा बढी कैलालीमा सात जनाले ज्यान गुमाएका छन् भने कञ्चनपुरमा चार, बाजुरामा पाँच, डोटी र बझाङमा एक/एक जना गरी १८ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।

उक्त सवारी दुर्घटनामा २५ वटा सवारी साधन परेकासमेत क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै गएको महिना प्रदेश नम्बर ७ मा ठूलो संख्यामा सवारी साधन कारवाहीमा समेत परेका छन्। चैत महिनामा चार हजार ४९७ सवारी साधन कारवाहीमा परेकोमा वैशाख महिनामा भने त्यो संख्या बढेर चार हजार ९२३ पुगेको छ।

ट्राफिक नियमको उलङ्घन गरेकाले ती सवारी साधनलाई कारवाही गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। कारवाहीमा परेका सवारी साधनहरूबाट जरिवानावापत २८ लाख छ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

यसअघि २०७३ को चैत महिनामा सवारी दुर्घटनामा परी प्रदेश नम्बर ७ मा ११ जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर घाइते भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.