|

  • गोविन्द महतो-

जनकपुरधाम: विगत लामो समयदेखि धनुषाको सदरमुकाम तथा प्रदेश नं. २ को सम्भावित राजधानी जनकपुरधामको नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन्।

एक लाख ५३ हजार ६१४ कुल जनसंख्या रहेको तथा ८५ दशमलब ९९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जनकपु उपमहानगरपालिकाभित्र सुँगुर छाडा छाडिएका कारण यस क्षेत्रका सर्वसाधारणले दैनिक हैरानी पाइरहेका छन्। साथै नगरपालिकाले सुँगुर नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि नगरभित्रको मुख्य चोकमा सुँगुरले दिसा गर्ने र थुपारिएको फोहोरमा मुखले खनेपछि ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको पाइएको रामानन्द चोकका चिया पसले राजकुमार राउतले बताए।

जनकपुरका मुख्य चोकहरू भानु चोक, शिवचोक, जानकीचोक, रामानन्द चोक, जिरोमाइल, भ्रमरपुराचोक, पुरानो बसपार्क, माछाबजारसहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन्।

वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीको आरोप छ। सुँगुरपालकले सुँगुरलाई आफ्नो खोरमा नराखेकाले पनि जनकपुर नगरमा सुँगुर आतंक बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन्। साथै जहाँतहाँ सुँगुरले फोहोर गर्नाले नगरमा रोगको संक्रमण फैलिने सम्भवना देखिएको स्थानीयको भनाइ छ।

यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुँगुरबाट दुर्गन्ध फैलिएर लामखुट्टेको संख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको जनकपुर उपमहानगरपालिका- १४ की सुनिता सिहंले बताइन्।

लामखुट्टेको टोकाइबाट मलेरिया जस्ता रोग लाग्न सक्छ। जनकपुरका गल्ली–गल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान पार्ने गरेको एक सेवाग्राहीले बताए।

यसैबीच जनकपुर उपमहानरपालिकाको नगर क्षेत्रमा बढेको सुँगुर आतंकबारे सर्वसाधारण जनताबाट गुनासो आएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले सुँगुर छाडा छोडेका कारण यहाँका जनताले भोग्नुपरेको समस्या नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.