|

  • सन्तोष अधिकारी-

गोरखा : जिल्लाको गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर राना विजयी भएका छन्। मनोनयन गर्ने दिनभन्दा दुई दिन अघि मात्र राजिनामा पत्र बुझाएर गाउँपालिका प्रमुखको उम्मेदवार बनेका रानाले बुधबार  सार्वजनिक मत परिणामपछि माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै गाउँपालिकाको अध्यक्ष निर्वाचित भए।

रानाले माओवादी केन्द्रका दिपक तिमिल्सिनालाई २७४ मतले हराएका हुन्। 'अहिलेसम्म नेपाल सरकारको कर्मचारी भएर बैंकमा जागिरे भएर जनताको सेवा गरेँ,' रानाले भने,'अब गाउँमा बसेर गाउँलेकै सेवा गर्नेछु। मेरो स्वभाव, मैले काम गर्न सक्छ भन्ने आँट र विश्वासले नै मलाई गण्डकी गाउँपालिकाको अध्यक्षमा जिताउनु भएको छ। म गाउँमा विकासको काम गरेर यो गुन तिर्नेछु। गाउँमा आएको मत पारदर्शी ढंगले जनताको घर दैलो विकासमा खर्चने उनले बताए। 'मैले कांग्रेसको तर्फबाट उम्मेदवार भएर अध्यक्ष जितेपछि माओवादी केन्द्र, एमाले, नयाँ शक्ति  अन्य दल केही नभनी, भेदभाव नगरी काम गर्नेछु यो मेरो प्रतिबद्धता नै भयो' उनले भने।

रानाले ४१४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी माओवादीका तिमिल्सिनाले भने रानाको भन्दा २७४ कम मत प्राप्त गरे। 'मैले कैले पनि सोचेको थिइन कि मैले यसरी गाउँलेको सेवा गर्ने मौका पाउँछु भनेर’ रानाले टेलिफोन सम्पर्कमा भने,'जसरी टिकट दिने बेला मलाई पार्टीले विश्वास गर्‍यो त्यसरी म चुनाव प्रचारमा लागेँ। मेरो उदेश्य गाउँलेलाई सुनाएँ अनि जितें। अब मेरो उदेश्य भनेकै गाउँलेलाई विकासको उपहार दिने हो।'

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै ललिता अधिकारी विजयी भइन्। पूर्णा थापालाई हराएर अधिकारी उपप्रमुख बनेकी हुन्। उपप्रमुखमा अधिकारीले ४०९७ र प्रतिद्वन्द्वी थापाले अधिकारीको भन्दा २२४ मत कम मत ल्याएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रखुम राजेन्द्र पोखरेलले जानकारी दिए।

१४ हजार ५७ मतदाता रहेको गण्डकीका ८ वडामध्ये ४ वडामा कांग्रेस र ४ वडामा माओवादी केन्द्रका उमेदवारले विजय हासिल गरे। वडा नम्बर १, ६, ७ र ८ मा माओवादी केन्द्रको प्यानलले जित्यो भने वडा नम्बर २, ३, ४ मा कांग्रेसको प्यानलले जितको छ। वडा नम्बर ५ मा भने वडा अध्यक्ष कांग्रेस उमेदवार र अन्य सदस्य माओवादी केन्द्रले जितेको छ। वडा नम्बर ८ को मतगणनामा कांग्रेस र माओवादीका उम्मेदवारहरुको बराबर मत परिणाम ल्याएका छन्।

यो सँगै नेपाली कांग्रेसले जिल्लाको ११ वटा स्थानीय तह मध्ये तीन वटा गाउँपालिकामा विजय हासिल गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाको चुमनुब्री गाउँपालिकामा धन बहादुर गुरुङ्ग र सिरान्चोक गाउँपालिकामा राजु गुरुङ्गले प्रमुखमा र रिता देवकोटाले उपप्रमुखमा जित हात पारेका हुन्।  अन्य स्थानीय तहमा मत गणनाको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.