|
फाइल फोटो

लहान: गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरीको मलेठ घटनाका मृतक पाँच जनालाई सरकारको तर्फबाट शहीद घोषणा गरिएको बताउँदै राहत हस्तान्तरण गरेका छन्। 

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत मलेठमा भएको गोलीकाण्डको ७२औँ दिन बुधबार गृहमन्त्री निधिले सरकारको तर्फबाट पहिलो पटक मृतक परिवारलाई भेट गर्दै मृतकहरूलाई शहीद घोषणा गरिएको जानकारी मात्र दिएनन्, मृतक परिवारलाई जनही राहत रकम स्वरूप १० लाख रुपैयाँको चेकसमेत हस्तान्तरण गरे। 

चेक हस्तान्तरण कार्यक्रममा गृहमन्त्री निधिले पूर्व न्यायाधीश अलि अकवर मिकरानीको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको आधारमा घटनामा संलग्न दोषीहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे। 

गृहमन्त्री निधिले मलेठ घटनामा भएको मानवीय क्षति अपूरणीय रहेको भन्दै सरकारको गृहमन्त्रीको हैसियतमा सार्वजनिक रूपमा क्षमायाचनासहित सरकारको तर्फबाट मृतक पाँचै जनालाई शहीदको रूपमा श्रद्धाञ्जलिसमेत अर्पण गरे। 

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत मलेठ गाउँ नजिकै रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर गत फागुन २३ गते मलेठ गाउँका २४ वर्षका सञ्जन मेहता, मलेठकै ४० वर्षका वीरेन्द्र महतो, ४५ वर्षका पिताम्बर मण्डल, प्रसवनीका ४२ वर्षका आनन्दकुमार साह र जमुनी मध्यपुराका ५७ वर्षका इनर यादवको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.