|

चितवन : चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले बिहीबारदेखि पुन ६ घण्टा बन्द गरेर काम गर्ने भएको छ। वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले बिहीबारदेखि नियमित रुपमा सडक बन्द गरेर काम गर्न लागेको हो।

आयोजनाका ईन्जिनियर शिव खनालका अनुसार अब हरेक दिन १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम हुने जनाइएको छ। अहिलेसम्म उक्त सडक खण्डमा ४७ प्रतिशत मात्रै काम पुरा भएको खनालले जानकारी दिए। समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ।

उक्त सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेको छ। चुनावका लागिगएका मजदुर फर्किएको समेत आयोजनाले जनाएको छ।

उक्त सडक भएर दैनिक १० हजार सवारी साधानहरु आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउँछन्। बेलाबेलामा सुख्खा पहिलोका कारण सास्ती पाउँदै आएका यहाँ बर्षाका बेलामा भने यात्रुहरुले थप सास्ती पाउँदै आएका छन्।

अघिल्लो महिनामा यहाँ सुख्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको प्रहरीले जनाएको छ। नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तरगत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ। कतिपय स्थानमा पिचको काम समेत थालिई सकिएको आयोजनाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.