|
Photo : AFP

यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २०९ पुगेको छ। हैजाका कारण झन्डै १७ हजार २ सय व्यक्ति बिरामी परेको संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले जनाएको छ।

युनिसेफको यमनस्थित नियोगले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रुपमा फैलिएको बताएको छ।

युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई दिएको जानकारी अनुसार यमनमा दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने गरेका छन्।

यसअघि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले सोमबार दिएको जानकारीमा अप्रिल २७ देखि आइतबारसम्म १८४ जनाको मृत्यु भएको र करिब ११ हजार व्यक्ति उक्त रोगको प्रकोपबाट पीडित भएको जनाएको थियो। 

हैजा पानी र खानाबाट सर्नसक्ने घातक रोग भएकाले समयमा उपचार नभएमा ज्यानै लिने खोजिम रहन्छ।

सानामा पछिल्लो समय युनिसेफ, आईसीआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लगायतका अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले हैजाको प्रकोप नियन्त्रणका लागि यमनको सरकार र स्वास्थ्य सङ्घसंस्थालाई सघाउँदै आएका छन्। 

हैजाको प्रकोपका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरुमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले सङ्कटकालको घोषणा गरी नियन्त्रण प्रयासलाई थप सशक्त पारेको छ।

यमनमा सन् २०१७ मा हैजाको प्रकोप दोस्रोपटक देखिएको छ। यमनको द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरुमा समेत आक्रमण भई प्रायजसो संरचना भत्केकाले बिरामीहरुलाई उपचार गर्ने उचित स्थानको समस्या रहने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.