काठमाडौं : मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार सर्वोत्तममान डंगोलले काठमाडौंलाई महत्व दिन नसक्दा माओवादी केन्द्रको हार भएको बताएका छन्। महानगरको जारी मतगणनामा पाँचौ स्थानमा रहेका डंगोलले हारको एउटा कारण काठमाडौंलाई भरतपुरसँग साट्न खोज्नु भएको बताएका छन्।
मत परिणामले हारको संघारमा पुर्याउँदा काठमाडौंवासीलाई माओवादीहरुले नै अनेकौँ बिल्ला भिडाउन थालेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले फेसबुकमा प्रश्न गरेका छन्- ‘काठमाडौंलाई नै चितवन (भरतपुर महानगर) सँग साट्ने जमर्को गरेर हामीले काठमाडौंलाई नै अपमान त गरेनौँ? काठमाडौंलाई हामीले के नै महत्व दियौँ र?’
उम्मेदवारी मनोनयन फिर्ता लिनुअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चार महानगरपालिकामा चुनावी तालमेलको प्रयास भएको थियो। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेलको तयारी भए पनि अन्त्यमा पोखरा लेखनाथ र भरतपुरमा मात्र तालमेल सम्भव भएको थियो।
भरतपुर महानगर प्रमुखमा माओवादीकी उम्मेदवार रेणु दाहाललाई कांग्रेसले सघाएको छ भने पोखरा लेखनाथ महानगर प्रमुखमा कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई माओवादीले सघाएको छ। चुनावी तालमेलका बाबजुद यी दुवै ठाउँमा कांग्रेस-माओवादी गठनबन्धनका उम्मेदवारहरुले एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन्।
भरतपुर महानगरसँग काठमाडौं महानगर साट्न खोजेको प्रचार मिडियाहरुमा हुँदा समेत पार्टीले खण्डन गर्न नसकेको भन्दै डंगोलले असन्तुष्टि जनाएका छन्। ‘त्यो हाम्रो (माओवादीको) आफ्नै जमर्कोलाई एनजीओ आइएनजीओबाट प्रभावित सञ्चारमाध्यमहरूले कसैको स्वार्थको लागि गोयबल्स शैलीमा प्रचार गर्दा पनि हामीले आधिकारिक रूपले त्यस्को खण्डन वा विरोध गर्न नसक्नुले हामी आफै कहाँ छौं र कस्को लागि उभिएका छौं भनि सोच्नु पनि जरुरी होला’, उनले लेखेका छन्।
यो स्टाटस लेखेको दुई घण्टापछि अर्को स्टाटस लेखेर डंगोलले स्पष्टीकरण दिएका छन्। ‘हारको कारण भित्रैबाट खोज्न र मतदातालाई दोष नदिन’ उनले अपिल गरेका छन्।
‘मेरो भनाई ख़ाली हामीलाई मतदान नगर्दैमा जनतालाई तथानाम भन्नु हुँदैन भन्ने मात्र हो। जनताको मानसिक चेतनालाई (त्यसमा पनि देशको राजधानीमा वस्ने निम्न पूँजिपति वर्गको चिन्तन बोक्नेहरू) हामीले मार्क्सवादी ढंगवाट बुझ्नु ज़रूरी छ’, उनले लेखेका छन्, ‘मैले भन्दै गरेको थिएँ, यो निर्वाचनको मुख्य महत्व भनेको माओवादीको एजेन्डा रहेको संविधानको मुख्य अन्तरवस्तुलाई स्थायित्व दिनु र कार्यान्वयन गर्नु नै हो। निर्वाचन सम्पन्न भए लगत्तै हामी सफल भयौं। हार जीत दोस्रो पक्ष हो।‘
तपाईंको ईमेल गोप्य राखिनेछ ।