|

काठमाडौं : पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा फराकिलो मत अन्तरले गोरखाको तीनवटै निर्वाचनमा जित हासिल गरेको नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा भने ठूलो धक्का व्यहोरेको छ। जिल्लाको ११ वटा स्थानीय तहमध्ये उसले दुईवटामा मात्र जित हासिल गरेको छ। मतगणना नसकिएको गोरखा नगरपालिका बाहेकका १० वटा स्थानीय तहमा कांग्रेसले ८ वटामा जित हासिल गरेको छ।

माओवादी केन्द्रको यो हारको मुख्य कारण डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्नु हो। धेरैजसो गाउँपालिकामा माओवादीलाई नयाँ शक्ति नेपालले जित्नबाट रोकेको छ। यसको सबैभन्दा गतिलो उदाहरण बनेको छ- भट्टराईकै घर रहेको पालुङटार नगरपालिका। जहाँ नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार विवश चिन्तनलाई जम्मा २०७ मतले पराजित गरेर नेपाली कांग्रेसका दीपकबाबु कँडेल निर्वाचित भए।

कँडेलले ४६९८ मत ल्याए भने माओवादी केन्द्रका चिन्तनले ४४९१ मत ल्याए। अन्तिमको दुई वडाको मतगणनाअघिसम्म पहिलो स्थानमा रहेका नयाँ शक्तिका उम्मेदवार अशोक देवकोटा तेस्रो स्थानमा रहे। पालुङटारमा माओवादी र नयाँ शक्तिको हारको चर्चा गोरखामा मात्र सीमित छैन। माओवादी फुटकै कारण कांग्रेसको जित भएको धेरैको विश्लेषण छ।

हुन पनि यो चुनावलाई माओवादी केन्द्र र नयाँ शक्ति नेपालले गोरखामा प्रतिष्ठाको विषय बनाएका थिए। बाबुराम बाहिरिए पनि आफ्नो शक्ति नघटेको दावी माओवादी केन्द्रले गर्दै थियो भने नयाँ शक्तिले गोरखाको जनस्तरमा आफ्नो बलियो प्रभाव रहेको दावी गरेको थियो। यसको परिणाम भने छर्लङ्गै छ, जिल्लाका बहुसंख्यक प्रदेशमा कांग्रेसले जित हासिल गरेको छ। कांग्रेस अहिले गोरखामा २०५६ सालको निर्वाचनको स्थितिमा पुगेको छ। जतिबेला उसले तीनवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो।

को हुन् कँडेल?

४२ वर्षीय कँडेल नेपाली कांग्रेस पालुङटार नगर इकाईका सभापति हुन्। गोरखा काठमाडौं प्रजातान्त्रिक समाजका सभापति समेत रहेका कँडेल पेशाले इन्जिनियर हुन्। उनी नेपाल भ्यालुएडेड एसोसिएसनका पूर्व अध्यक्ष र इन्जिनियर्स एसोसिएसनका पूर्व सदस्य हुन्।

पुल्चोक इन्जिनयरिङ क्याम्पसमा ओभरसियर पढेका कँडेलले चाँगुनारायण इन्जिनियरिङ क्याम्पसमा अर्वान इन्जिनयरिङ पढेका हुन्। नेपाल विद्यार्थी संघबाट राजनीति गरेका कँडेलले  स्थानीय तहको निर्वाचनको क्रममा स्थानीयलाई स्वच्छ र हरभारा सहर निर्माण गर्ने योजना सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • प्रचण्ड र बाबुरामबीचको लडाईंमा विजयी हुने दीपकबाबु कँडेल को हुन्? अव हामीले हेर्ने र चुन्ने भनेको पार्टी होइन असल, योग्य र सबल नेतृत्व हो ।त्येसैको प्रतिविम्ब गोरखामा देखिँदैछ।अव हाम्रो सम्बन्ध कुन दल वा कसले जित्यो भन्ने कुरासँग नभइ हामीले चुनेर पठाएको प्रतिनिधिले कस्तो कार्य सम्पादन गर्छ भन्ने कुरासँग हुनुपर्छ। साथसाथै आदरणिय दाजुलाई सफल कार्यकालको सुभकामना दिन चाहन्छु।