|

काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो चरणमा राप्रपाको नतिजा निरासाजनक छ। बिहीबार मध्याह्नसम्म राप्रपाले एउटा मात्र स्थानीय तहको प्रमुख पदमा जित हात पारेको छ। उत्तरी धादिङको रुबी भ्याली गाउँपालिका अध्यक्षमा राप्रपाका चेरुङ तामाङ निर्वाचित भएका हुन्।

एमालेसँग तालमेल गरेको काठमाडौं र ललितपुर महानगरपालिकामा पनि प्रारम्भिक नतिजा अपेक्षाकृत छैन। यस्तो अवस्थामा रुबी भ्यालीले राप्रपालाई 'नील' हुनबाट जोगाएको छ। उत्तरी धादिङको साविकका तीन गाविस (लापा, तिप्लिङ र सेर्तुङ) पहिलेदेखि नै राप्रपाको प्रभाव क्षेत्र हो।

के हो रुबी भ्याली?

झट्ट नाम सुन्दा कुनै सहरजस्तो लाग्छ। यो तिब्बतसँग जोडिएको दुर्गम तर, मनोरम हिमाली क्षेत्र हो। स्थानीय तह पुनर्संरचनामा साविकका लापा, तिप्लिङ र सेर्तुङ गाविसलाई जोडेर रुबी भ्याली गाउँपालिका बनाइएको हो। यस क्षेत्रमा बहुमूल्य धातु रुबी पाइने भएकाले नाम रुबी भ्याली राखिएको हो। रुबी भ्यालीको कुल जनसंख्या ९ हजार ५६५ छ, यो ४ सय १ वर्ग किलोमिटरमा भूगोलमा फैलिएको छ। यस गाउँपालिकामा ६ वटा वडा छन्।

दुर्गम भए पनि रुबी भ्याली रमणीय छ। पर्यटकीय हिसाबले महत्वपूर्ण छ। गणेश हिमालको ट्रेकिङ रुट पनि यहीँ पर्छ। कस्तुरी र डाँफे देख्न पाइन्छ। करिब २०० मेघावाट विद्युत उत्पादन क्षमता रहेकोमा केही जलविद्युत् आयोजना निर्माणको चरणमा छन्।

रुबी भ्याली बौद्ध धर्माबलम्वी बहुल क्षेत्र हो। पछिल्लो समयमा क्रिश्चियनहरु बढेका छन्। तर, त्यहाँ हिन्दू राष्ट्रलाई मूल मुद्दा बनाएको राप्रपा विजयी भएको छ। जसको चुनाव चिह्न नै हिन्दूहरुले पुज्ने गाई हो। हिन्दूहरुको निकै कम आवादी रहेको यस गाउँपालिकामा हिन्दूराष्ट्रलाई एजेण्डा बनाएको पार्टी कसरी विजयी भयो त ? स्वभाविक जिज्ञासा उठ्न सक्छ। यहाँ राप्रपा जित्नुको एकमात्र कारण उपाध्यक्ष बुद्धिमान तामाङ हुन्।

बुद्धिमानको प्रभाव

राप्रपा महाधिवेशनमा सर्वाधिक मत ल्याएका बुद्धिमान तामाङको गाउँ हो रुबी भ्याली। उनी राप्रपामा मात्र प्रभावशाली छैनन्, धादिङको उत्तरी भेगमा उनको पकड बलियो छ।

२०३३ सालमा जिल्ला पञ्चायत सदस्यबाट राजनीति सुरु गरेर उनी पञ्चायतमा दुईपटक र बहुदलमा दुईपटक धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित भए। पटकपटक मन्त्री बने। उनको प्रभाव नै त्यस रुबी भ्यालीमा राप्रपा जितको कारण हो।

२०४९ सालको स्थानीय निर्वाचनमा त लापाबाहेक सबै तीनवटा गाविसका सबै पदमा राप्रपा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए। त्यसयता पनि त्यहाँ राप्रपाकै प्रभाव र पकड थियो।

बुद्धिमान तामाङ जता लाग्यो त्यहाँको मत त्यतै जान्छ। पहिलो संविधानसभामा उनी उठेनन्। औषतमा थोरै जनसंख्या भएर राष्ट्रिय जनशक्ति पार्टीले त्यो क्षेत्रबाट समानुपातिकतर्फ सबैभन्दा बढी भोट ल्यायो।

पार्टी एकीकरणपछि चुनाव चिह्न के राख्ने भन्नेमा राप्रपामा विवाद थियो। अध्यक्ष कमल थापा चुनाव चिह्न गाई राख्नुपर्ने पक्षमा थिए। तर, उपाध्यक्ष बुद्धिमानले अन्तिमसम्म हलोको पक्ष लिइरहे। अन्तत: चुनाव चिह्न गाई नै भयो। र, उनै बुद्धिमानको गाउँ रुबी भ्यालीले गाईमा भोट हालेर राप्रपालाई पहिलो चरणको स्थानीय निर्वाचनमा नील हुनबाट जोगायो।

विजेता को हुन्?

रुबी भ्यालीमा राप्रपाबाट विजयी चेरुङ तामाङ हुन्। उनका बुबा प्रधानपञ्च र गाविस अध्यक्ष बनिसकेका व्यक्ति हुन्। चेरुङलाई राजनीतिमा खासै चासो थिएन। उनी भन्छन्- 'बुबाको इच्छाले म राजनीतिमा होमिएँ। मेरो आमा पनि राप्रपामा हुनुहुन्थ्यो। पारिवारिक वातावरणले नै राजनीतिमा होमिन बाध्य तुल्यायो।'

चुनावको माहोलमा उनले राप्रपाले सबैतिर हारेको पनि थाहा पाएका रहेनछन्। थाहा खबरले देशभरबाट पार्टी हारेर आफू एक्लो जित्दा कस्तो हुँदोरहेछ भन्ने प्रश्न गर्दा उनले भने- 'ए होर, मैले त थाहा नै पाएको थिइन। जितमा खुसी त छु नै। तर पार्टीको अवस्था अझ राम्रो भएको भए झनै खुसी हुने थिएँ।' राजनीतिमा होमिसकेका चेरुङले राजनीतिक जवाफ पनि दिन भ्याए- 'राजनीतिमा हार र जित त हुन्छ नै। पहिलो संविधानसभामा कांग्रेस र एमालेको गति के भएको थियो ? तर, हामी विचलित हुन्नौँ। त्यसै पनि केही ठाउँबाहेक पहिचोचरण चुनाव भएको क्षेत्र हाम्रो लागि राम्रो होइन नै। दोस्रो चरणमा स्थिति सुध्रन्छ।'

नवनिर्वाचित अध्यक्ष चेरुङले छोटो कुराकानीमा आफ्नो योजना पनि सुनाए। उनले भने, 'यो क्षेत्रमा यातायातकै असुविधा हो। मेरो प्राथमिकता बाटो नै हुनेछ। त्यसबाहेक पर्यटन प्रबद्धन र जलविद्युत् विकासमा ध्यान दिनेछु।'

उपाध्यक्षमा निर्वाचित विना लामा भने मोडल हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन्। उनी पनि पारिवारिक पृष्ठभूमिकै कारण राप्रपासँग जोडिएको हुन्।

स्मरण रहोस्, रुबी भ्याली त्यही ठाउँ हो, जहाँ ताइवानी पर्यटक ५५ दिनसम्म सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएकामध्ये १ जनालाई जीवितै उद्धार गरिएको थियो भने एकजना मृत भेटिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.