|

  • सन्तोष अधिकारी-

गोरखाः दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा माओवादीले दुई मात्र गाउँपालिका जित्यो। अरू सबै नेपाली कांग्रेसको पोल्टामा गयो। 

माओवादीले शहीद लखन गाउँपालिका र सुलिकोट गाउँपालिकामा मात्र आफू बलियो रहेको देखायो। सुलिकोटमा विष्णु भट्ट र सनमाया गुरुङले क्रमशः प्रमुख र उपप्रमुख पदमा जीत हासिल गरे भने शहीद लखन गाउँपालिकामा रमेश थापा र इन्दिरा तिवारीले क्रमशः प्रमुख र उपप्रमुखमा जीत हात पारे। गोरखाको गाउँपालिकामध्ये माओवादीले जितेका यिनै दुईवटा मात्र हुन्। 

गोरखाका प्रायः सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भइरहँदा माओवादी केन्द्रले जति बेला पनि कांग्रेसलाई पछ्याइ मात्र रह्यो। कुनै पनि गाउँपालिकाको नतिजामा यस पटक कांग्रेसले माओवादीलाई पछ्याउनुपरेन।

गोरखाको गण्डकी, अजिरकोट, चुम नुब्री, धार्चे, सिरानचोक, आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसले आफू बलियो रहेको मत परिणाममार्फत देखाएको छ। 

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा यस जिल्लाका तीनवटै क्षेत्रमा जीत हात पारेको माओवादी एकाएक पछि परेको हो। माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले आफूहरू व्यवस्थित ढंगबाट जान नसकेका कारण हार बेहोर्नुपरेको स्वीकार गरे। उनले कांग्रेसले मतदातालाई पैसा बाँडेर प्रलोभनमा पारेको पनि आरोप लगाए। 

माओवादीले आफ्नो किल्ला मानेको ठाउँमा एकाएक कसरी पछि पर्‍यो? भन्ने प्रश्नमा थापा भन्छन्, ‘हाम्रो संगठन कमजोर भएर हार भएको होइन, अन्य दलका साथीहरूले चुनावलाई पैसा लगानी गर्ने र भोट फलाउने जस्तो गरे, त्यसैको परिणाम हो यो। जनताले नुन खाएपछि गुन गरेका मात्र हुन्।’ उनले अबका दिनमा व्यवस्थित ढंगबाट जाने निर्णय गरेको पनि बताए।

नारायणकाजी श्रेष्ठकै गाउँपालिकामा हार्‍यो माओवादी
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत रहेका सिरानचोक गाउँपालिकामा माओवादीले लज्जास्पद हार बेहोरेको छ। सिरानचोकमा वडा नं. १, २, ३, ४, ६ र ७ मा कांग्रेसले जीत हासिल गर्‍यो। नयाँ शक्ति नेपालका जिल्ला संयोजक रमेश पोखरेलको गृहवडा सिरानचोक– ५ मा भने नयाँ शक्ति नेपालले जितेको छ। 

माओवादीले नारायणकाजी श्रेष्ठको गृहवडा जौबारीमा भने जीत हात पार्‍यो। गाउँपालिका जित्न त्यहाँको जनमतले पुगेन। 

बाबुराम र हितराजको गृहनगरमा कांग्रेसको जीत

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्व मन्त्री हितराज पाण्डे र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले भोट हालेको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका दीपकबाबु कँडेलले बाजी मारे। उपप्रमुखमा भने माओवादीकी पम्फा बसेलले जीत हात पारिन्। 

अधिकांश मानिस भने माओवादी फुट्नुका कारण पार्टी विभाजजित भएको र यसकै असर स्थानीय निर्वाचनमा देखिएको बताउँछन्। नेकपा माओवादी केन्द्रबाट फुटेर बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल नबनाएको भए गोरखामा माओवादीकै पकड रहने देखिन्छ। अधिकांश गाउँपालिकामा माओवादी केन्द्र र नयाँ शक्तिले ल्याएको मत एउटै बास्केटमा हालेर हेर्ने हो भने धेरै मतान्तरले जितेको देखिन्छ। माओवादीबाट फुटेर नयाँ शक्ति बन्नु नै गोरखामा माओवादीले नजित्नुको मुख्य कारण रहेको माओवादी केन्द्र स्वीकार्छ। 

नेकपा माओवादी केन्द्रले आफूले राम्रो भनेका प्रायः सबै ठाउँमा पराजय बेहोरेको छ। राम्रो भएको ठाउँमा आवश्यकभन्दा बढी आत्मविश्वास भएको कारणले पनि माओवादी केन्द्रले हार बेहोरेको हो। टिकट नपाएको झोँकमा आफ्नै दलका उम्मेदवार हराउन भित्रभित्रै लागि पर्ने, निर्वाचन प्रचार प्रसारको काममा सक्रिय नभएको कारणले विपक्षीको पोल्टामा नतिजा गएको माओवादीका एक उम्मेदवारले बताए। नेकपा माओवादी केन्द्रलाई प्रायः सबै ठाउँमा नेपाली कांग्रेसकै उम्मेदवारले हराएका हुन्। 

माओवादीबाहेकका अन्य दलका कार्यकर्ता तथा नेताहरूले भने माओवादीले यस पटक मतदानस्थलहरूमा बुथ कब्जा गर्न नपाएर हार बेहोरेको समेत आरोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.