|

लहानः सिरहाको धनगढीमाई नगरपालिका– १० मा बिहीबार अपराह्न ट्रिपरको ठक्करबाट घाइते महिलाको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय धनगढीका प्रमु्ख प्रहरी नायव उपरीक्षक उत्तम कार्कीका अनुसार बाटो काट्ने क्रममा ट्रिपरको ठक्करले घाइते भएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ५ की अन्दाजी ४५ वर्षकी दर्पणदेवी सिंहको मृत्यु भएको हो। 

ट्रिपरको ठक्करले गम्भीर घाइते भएकी सिंहलाई तत्काल एम्बुलेन्समार्फत् उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। पूर्वबाट पश्चिमतिर जाँदै गरेको बा४ख ५५४२ नम्बरको ट्रिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

त्यस्तै सिरहाको लहान नगरपालिका– १२ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख १९२८ नम्बरको यात्रुबाहक बसले स४प ९१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकासहित तीन जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय लहानका अनुसार बसको ठक्करले घाइते भएका मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ५ खरुकियाहीका २९ वर्षका आमोद यादव, २२ वर्षकी सरितादेवी यादव र दुई वर्षकी शिलाकुमारी यादवलाई लहानस्थित सप्तऋषि अस्पतालमा उपचार गरिएको छ। 

घाइतेमध्ये सरितादेवीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ। प्रहरीले मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.