|

जनकपुरधाम : धनुषाको विभिन्न स्थानबाट अवैद्य हुण्डी कारोवारको करिब साढे ५५ लाख रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मेलेसियाबाट कामदारहरुले पठाएको रकम भारत हुँदै नेपाल भित्रयाउने कारोवारमा संलग्न रहेको आरोपमा धनुषाका पाँच जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं. २ स्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमुनिको गल्लीबाट ११ लाख सहित धनुषा एकराही बस्ने वर्ष २० को अरुण दास, धनुषाकै रघुनाथपुर वडा नं. ४ बस्ने वर्ष २० को रोशन कुमार महरा १४ लाखसहित पक्राउ परेका हुन्।

पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा सोही काममा संलग्न रहेका जिल्ला धनुषा रघुनाथपुर वडा नं. ४ घर भई हाल धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ मा बस्दै आएका ३८ वर्षीय महादेव राउत, निजको आफ्नै भाइ विन्देश्वर राउत, र सबैला वडा नं. २ बस्ने विन्देश्वर राउतलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धानबाट हुण्डी कारोबार चलाउने मुख्य विष्णुदेव राउत रहेको जनाएको छ। उनी १० देखि १५ दिनमा मलेसिया आउने जाने गर्दै आएको तथा मलेसियामा इम्पेक्स नाम संस्था स्थापना गरी मलेसियामा रकम संकलन गरी नेपालमा भाइबर तथा म्यासेन्जरबाट रकमको विवरण पठाई कारोवार गर्दै आएको तथा विन्देश्वर राउतले धनुषाको सबैलामा सञ्चालन गरेको विभास मनि ट्रान्सफरमको माध्यमबाट अवैद्य कारोवार गर्दै आएको जनाएको छ।

पक्राउ परेका ती अभियुक्तहरु विष्णुदेव राउतको साथबाट २६ लाख ६४ हजार २ सय, विन्देश्वर राउतको साथबाट ३ लाख ७३ हजार, अरुण दासबाट ११ लाख र रोशन कुमार महराको साथबाट १४ लाख गरी ५५ लाख ३७ हजार २ सय रुपैयाँ बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए।

उनीहरुको साथबाट विभिन्न कम्पनीका ल्यापटप ५ थान, मोबाइल १० थान र विभिन्न प्रकारका फाइल तथा डायरीहरु बरामद भएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए। पक्राउ परेका सबैलाई नगदसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.