|

  • मेगराज खड्का

रुकुम : माओवादी केन्द्रले रुकुम द्वन्द्वकालदेखि शान्ति स्थापनाको दशकसम्म पनि आफ्नो आधार इलाकाका रुपमा लिएको छ। द्वन्द्वका क्रममा रुकुमेली जनताकै बलमा जनयुद्ध सुरु गरेको तत्कालीन माओवादीले शान्ति स्थापनापछि भएका दुई संविधानसभा चुनावमा पनि माओवादीकै उम्मेदवारहरु रुकुमका दुवै निर्वाचन क्षेत्रमा भारी मतका साथ विजयी भएका थिए।

यसैगरी बैशाख ३१ भएको ऐतिहासिक स्थानीय तह निर्वाचनबाट पनि माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पदमा विजयी प्राप्त गरेको छ। रुकुमका ६ स्थानीय तहमा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी प्रमुखहरु कस्ता छन् त हेर्नुहोस यस्तो छ व्यक्तिगत विवरण :

देविलाल गौतम, प्रमुख, मुसिकोट नगरपालिका

रुकुम मुसिकोट नगरपालिको प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी ६८ वर्षीय देविलाल गौतम २ दशक लामो राजनीतिक यात्रामा लामबद्ध छन्। सहिद परिवार समाज रुकुमको अध्यक्षसमेत रहेका गौतमले शान्ति समिति रुकुमको संयोजक बनेर रुकुमेली सहिद परिवारहरुलाई राहत र पुनमिलनमा सेवा गरिसकेका छन्।

मुसिकोट नगरपालिकाका प्रमुखमा निर्वाचित भइसकेकोपछि निकालिएको विजय जुलुसको कोणसभामा बोल्दै नगरक्षेत्रको मुहार फेरिने गरी काम गर्ने आफ्नो पहिलो प्रथामिकता हुने बताए। उनले मुसिकोट नगर क्षेत्रमा एक घर एक धारा, बजार व्यवस्थापन र बसपार्क निर्माणमा पहिलो प्रथामिकता हुने बताए।

विशाल शर्मा, प्रमुख, चौरजहारी नगरपालिका

रुकुमको चौरजहारी नगरपालिकाको प्रमुखमा विजयी भएका विशाल शर्मा पनि नेकपा माओवादी केन्द्र रुकुमको एक जिम्मेवार नेताको रुपमा चिनिन्छन्। २०४६ सालतिर मसालको विद्यार्थीे संगठनबाट राजनीतिमा प्रवेश गरेका शर्मा २०५१ सालमा तत्कालीन नेकपा माओवादीको  पार्टी सदस्यता प्राप्त गरेका थिए।

दशक बढी लामो राजनीतिक जीवनमा सक्रिय शर्मा २०५८ सालमा पार्टीको जिल्ला सेक्रेटरी र २०५९ देखि २०६१ सम्म जनमुक्ति सेनाको जिल्ला सैन्य आयोगको इन्चार्जको समेत जिम्मेवारी बहन गरिसकेका छन्।

रुकुमको चौरजहारीमा अवस्थित शीतल उमाविको ४ वर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष बनिसकेका शर्मा जहारी खोला कृषि सहकारी संस्थाको अध्यक्षमा लामो समयदेखि क्रियाशील छन्।

 निर्वाचित भइसकेपछि चौरजहारी क्षेत्रको सडक, सहरी विकास र सञ्चार लगायतका क्षेत्रमा नयाँपन देखिने काममा आफ्नो पहिलो प्रथामिता रहने बताए। चौरजहारीलाई यसअघि नै जसरी सरकारले देशकै नमुना सहर बनाउने घोषणा गरेको छ त्यसलाई पनि छिटै  देखिने गरी काम थालिने बताएका छन्। त्यस्तै चौरजहारी क्षेत्रको बासिन्दाहरुले समस्या भोग्दै आएका खानेपानीलाई छिटै नयाँ योजनाका साथ काम थालिने उनले बताए।

नरबहादुर पुन, अध्यक्ष, सानोभेरी गाउँपालिका

रुकुमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा निर्वाचित नरबहादुर पुन २०३८ सालमा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन्।  २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको पार्टी सदस्यता प्राप्त गरेका पुन २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध सुरुवातदेखि विभिन्न पदमा रहेका सक्रिय रहेका थिए।

उनी जनमुक्ति सेनाको भिडिजन सचिवसम्म पुगेको बताउँछन्। २०६० सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्यसगै शान्ति प्रक्रियापछि पनि नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समितिसमेत बनेका थिए।

राजनीतिसँगै समाजसेवा सक्रिय पुन सानीभेरी गाउँपालिका १ मा रहेका निमाबि जंगलगाउँको व्यवस्थापन समिति अध्यक्षसमेत बनेर शिक्षा क्षेत्रमा पनि योगदान गरेका छन्। निर्वाचनअघि प्रतिबद्धता जनाए अनुसारका सबै कामहरु प्रथामिकताका आधारमा गर्दै जाने उनले बताएका छन्। उनले गाउँमै उच्च शिक्षाका शैक्षिक संस्था स्थापना गर्नेदेखि ग्रामीणस्तरसम्म स्वास्थ्यसंस्थाहरुको व्यवस्था र युवा बेराजगार समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

झक्कुप्रसाद घर्ती, अध्यक्ष, त्रिवेणी गाउँपालिका

रुकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा विजयी भएका झक्कुप्रसाद घर्तीको पनि राजनीतिक इतिहास लामै छ।  २०३८ सालमा विद्यार्थी संगगठबाट राजनीति सुरु गरेका घर्तीले २०४४ मा मसालको सदस्यता प्राप्त गरेका थिए। घर्तीले २०४६ सालको बहुदल आन्दोलनमा सक्रिय सहभागिता जनाएका घर्ती २०५६ मा तत्कालीन नेकपा माओवादीको जिल्ला समिति सदस्य बनेका घर्ती युद्धक्रममा जनमुक्ति सेना गण्डक कमाण्डको स्वयंमसेवक कमाण्डर समेत भएका थिए।

स्थानीय प्राथामिक विद्यालयको जागिर छोडेर राजनीतिमा होमिएका घर्ती शान्ति स्थापना पछिका वर्षहरुमा पनि राजनीतिसँगै शिक्षा क्षेत्रमा पनि योगदान गरेका छन्। उनी उमावि सिम्रतु र सिम्रतु क्याम्पस रुकुमको व्यवस्थापन समितिको अध्यक्षसमेत बनिसकेका छन्।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले त्रिवेणी गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकहरुको सम्मान र प्रोत्साहानका लागि आफ्नो पहिलो प्रथामिकताका साथ काम गर्ने बताए। गाउँगाउँमा सडक विस्तारदेखि युद्ध पर्यटन र पकेट क्षेत्रमा कृषिका कामहरुलाई जोड दिने पनि उनले बताए।

गोरखबहादुर केसी, प्रमुख, आठबिसकोट नगरपालिका

रुकुमको आठबिसकोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित  गोरखबहादुर केसी २०४५ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिमा प्रवेश गरेका थिए। २०५४ सालदेखि तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य बनेका केसी त्यसपछि पार्टी र जनमुक्ति सेनाको सहायक कमाण्डरसम्म बनेका थिए। केसी युद्धपत्रकारको रुपमा पनि चिनिन्छन्। युद्धका क्रममा २०५९ तिर माओवादीले सुरु गरेको रेडियो जनगणतन्त्र नेपालको परीक्षणदेखि लामो समयसम्म उनले काम गरेका थिए।

हाल उनी नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यसमेत हुन्। विजयी भएपछि प्रतिक्रिया दिँदै नगर क्षेत्रको सञ्चार र बजार व्यस्थापनमा आफ्नो पहिलो काम हुने उनले बताएका छन्। आठबिसकोट क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा धेरै ठाउँका जनता सञ्चारबिहिन हुँदै आएको जानकारी दिँदै त्यसतर्फ आफ्नो पहिलो ध्यान जाने बताए।

धर्मबहादुर केसी, अध्यक्ष, बाँफिकोट गाउँपालिका 

 २०३८ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका केसीले २०४७ मा तत्कालीन मसालको पार्टी सदस्य प्राप्त गरेका थिए। त्यसक्रममा पार्टीको विभिन्न जीम्मेवारीमा रहेर क्रियाशील रहेका केसी जनमुक्ति सेनाको छैटौ भिडिजनअन्तरगत बिग्रेड सहकमाण्डर समेत बनेका थिए।

शान्ति प्रक्रियापछि माओवादी सेना शिविरमा रहँदा उनी अनमिन प्रतिनिधि, नेपाली सेना र माओवादी सेना बीचममा बनेको ज्वइन्ट मोनिटेरिङ टिमको सदस्यसमेत बनेका थिए। त्यस्तै द्वन्द्वपीडित व्यक्ति, परिवार सम्पति क्षति तथा संरचरनामा  भएको क्षतिको विवरण छानबिन कार्यदल सदस्यसमेत बनिसकेका छन्।

जनमुक्ति सेनाबाट स्वैच्छिक अवकाश रोजेर पार्टीको राजनीतिमा जोडिएका केसी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समितिको सदस्यसमेत बनिसकेका छन्।

अध्यक्षमा विजयी भएपछि उनले निर्वाचनअघि जनतामाझ गरेका प्रतिबद्धता आफूले क्रमश पूरा गरेरै छोड्ने बताएका छन्। उनले सुसासन, भ्रष्टाचारमुक्त समाज र बाँफिकोट क्षेत्रका स्यार्पुताल जस्ता पर्यटकीय क्षेत्रहरुको विकास, संरक्षण र प्रवर्द्धनमा जोड दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.