|

काठमाडौं : वाग्मती सफाइ महाअभियान आजदेखि चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा शुक्रबार महाअभियानले काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नारायणचौरको नन्दिकेशर बगैँचामा सफाइ गरेको छ। सफाइमा वाग्मती सफाइका अग्रज अभियानकर्मी एवम् सामुदयिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको संयोजनमा स्थानीय समुदाय, सामुदयिक प्रहरी सेवा केन्द्र, प्रहरी १ नं गण नक्साल, विशेष फौज वाहिनी महाराजगन्ज, १ नं वडाका नवनिर्वाचित वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरु राजकुमार श्रेष्ठ, मीना सुनार, रसला तण्डुकार र अशोक श्रेष्ठको समेत उपस्थिति थियो।

नेपाली सेनाका वाहिनीपति बाबुकृष्ण कार्कीसहित ३०० को समूह, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरसहित २०० को समूहलगायत कार्यक्रममा वाग्मती, रुद्रमती र विष्णुमती सफाइका अभियानकर्मीसहित ६०० जनाको सहभागिता थियो।

हाल २१०औँ हप्तासम्म पुगेको महाअभियान २०७० जेठ ५ गते शनिबार नागरिक समुदायको पहलमा मुख्य सचिवको संयोजन तथा सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, निजामती कर्मचारी, सेना, प्रहरी तथा सशस्त्र प्रहरी बल, स्थानीय निकाय, गायत्री परिवार, नेपाल एसजीआई, एस ट्राभल्स, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल विज्ञापन सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, पेसाकर्मी, शिक्षकसमेतको सहभागितामा वाग्मती सफाइ महाअभियानको सुरुवात गरिएको थियो।

महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी र थुप्रै अभावका बावजुद निरन्तर रुपमा अगाडि बढेको छ। अहिलेसम्म उपत्यकाका नदीनालामा सात लाख ३० हजार स्वयंसेवकको सहभागी भएका छन्। नदीनालाबाट आठ हजार ३०० मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ। वाग्मती किनारमा दायाँबायाँ डेढ दशकदेखि गति लिन नसकेको ढल बिछ्याउने काम यसै अभियानको बलमा अगाडि बढेको छ।

नदीकिनार तथा स्थानीय बासिन्दाको बानीमा परिवर्तन आएको अभियानकर्मी उमेश बोहोराले बताए। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यकाका सबै नदी किनारमा ढल बिछ्याउने र प्रशोधन गर्ने कार्यक्रम सरकारले ल्याएको छ। नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहर फ्याँक्नेलाई कानुनको दायरामा ल्याउन अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

अभियानको प्रेरणाबाट गोकर्ण–गुह्येश्वरीखण्डमा स्थानीय समुदायको सहभागिताका साथ पुडासैनीमैत्री समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकलबारी समाजले संयुक्त रुपमा सफाइ सँगसँगै नदी किनारका हजारौँ बिरुवाको समेत संरक्षण गरेका छन्। त्यस्तै तिलगङ्गा, रुद्रमती, विष्णुमती, नक्खुजस्ता नदी किनार र उपत्यका बाहिर करिब २५ जिल्लामा सञ्चालित सफाइ अभियानले स्थानीय समुदायको सहभागिता जुटाउन सफल भएको छ।

अभियानको बलमा सामाजिक योगदानबाटै वाग्मती किनारमा दर्जनौँ बगैँचा, निर्माण भई हजारौं बिरुवा रोपिएका छन्। अभियानले नयाँ पुस्ताका लागि विस्मृतिमा गइसकेको पूर्वीय सभ्यताको अभिन्न पाटो स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको छ। महाअभियानले संयुक्त राष्ट्रसङ्घअन्तर्गत ‘युएन ह्याविट्याटको एसियन टाउनस्केप अवार्ड’ पाउन सफल भएको छ। स्रोतमै वैज्ञानिक व्यवस्थापन नगरीकन नदीनाला सफा हुन सक्दैनन् भन्ने पाठ सफाइका क्रममा सिकिएको महाअभियानले जनाएको छ।

विसं २०७३ फागुन २८ गते शनिबार वाग्मती सफाइ महाअभियानको २००औँ हप्ताको मूल समारोहमा मुख्यसचिव डा सोमलाल सुवेदीले सरसफाइ घोषणापत्र जारी गर्नुभएको छ। यसको कार्यान्वयनपछि स्वच्छ र सुन्दर नेपालको सपना साकार पार्न सहयोग मिल्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.