मतगणना नसकिँदै हार स्वीकार

|

पोखरा : नेपाली कांग्रेस पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका छन्। स्थानीय तहको निर्वचनमा पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसको निराशाजनक परिणाम आएकोले आफूले राजीनामा दिएको उनले प्रेस विज्ञप्तिमा जनाएका छन्।

जारी मतगणनामा पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार रामजी कुवँरले एमालेका उम्मेदवार मानबहादुर जिसीलाई थोरै मतान्तरसहित पछ्याइरहेका छन्।

‘निर्वाचनको अप्रत्यासित परिमाणले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारमा विश्वास राख्ने सम्पूर्ण नागरिकहरुलाई स्तब्ध बनाएको’ उनले उल्लेख गरेका छन्। चुनावमा आएको परिणामा लागि कांग्रेसभित्रको अन्तर्घात जिम्मेवार रहेको उनले दावी गरेका छन्। 

‘यो अप्रत्यासित परिणाम कांग्रेसको क्षेत्र, जिल्ला, र केन्द्रीय नेतृत्वमा बसेका लोकतन्त्रको हिमायती हौँ भन्ने व्यक्तिहरुको उदासिन, गैर जिम्मेवार र आत्मघाती व्यवहार बढी जिम्मेवार भएको महसुस भएको छ’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'कांग्रेसको विभिन्न तहमा रहेको नेताहरुमा देखिएको व्यक्तिवादी सोच, संकीर्णता र गैर जिम्मेवारीपनको प्रभाव पार्टीका स्थानीय कार्यकर्ताहरुमा पनि बढ्दै जाँदा पोखरा लेखनाथ महानगर र कास्कीका गाउँपालिकाहरुमा लज्जास्पद हार ब्योहर्नु परेको छ।’ 

आफ्नो राजीनामा कांग्रेसको सांगठनिक शुद्धिकरणका लागि भएको उनले उल्लेख गरेका छन्। उनले नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरु, सांसदहरु, जिल्ला कार्य समिति तथा क्षेत्रीय कार्यसमितिका सभापति र पदाधिकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई पनि राजीनामा दिन चुनौती दिएका छन्। उनले भनेका छन्-

‘कांग्रेसका इमान्दार र कर्मठ सदस्यहरुको सहयोगका बाबजुद पनि नेपाली कांग्रेस कास्कीको यो निराशाजनक परिणामका निम्ति नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य, माननीय सांसदहरु, जिल्ला कार्य समिति तथा क्षेत्रीय कार्यसमितिका सभापति र पदाधीकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु आआफ्नो जिम्मेवारीबाट संवेदनशील हुन नसकेकोले सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टी विरुद्धको यो अन्तर्घात, गैर जिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिँदै नेपाली कांग्रेसलाई  विनिर्माण, पुनर्संरचना र पुनर्गठन गरी नेपाली कांग्रेसको ऐतिहासिक उचाईलाई प्राप्त गर्न मार्ग प्रसस्त गरिदिन अनुरोध गर्दछु।‘

श्रेष्ठ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ मा वडाध्यक्षका उम्मेदवार पनि हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.