'नयाँ युगको प्रारम्भ भएको छ'

|

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि नयाँ युगको प्रारम्भ भएको बताएका छन्। शुक्रबार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवन उद्घाटनका क्रममा उनले धेरै ठूलो मिहिनेतपछि र लामो समय पनि नयाँ सन्दर्भमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गरे।

‘आफूलाई कसले जित्छ, कसले हार्छ भन्ने नलागेको उल्लेख गर्दै उनले भने, ‘नेपाली कांग्रेसले जिते पनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ।’ ‘किनकि, राष्ट्रले जितेको छ, आम जनताले जितेका छन्, ‘यसमा गर्व गरौं, खुसी मनाऔं।’

उनले ठूलो अप्ठ्याराहरुसँग सामना गरेर मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन गर्न सफल भएको दाबी गरेका छन्।उनले अहिले दोस्रो चरणको तयारमिा सरकाल जुटेको जानकारी दिँदै यसका लागि आजै दल र मधेसी मार्चासँग छलफल गर्नेसमेत जानकारी दिए।

‘दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर हुनुपर्छ, उनले भने, ‘अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ।’ ‘दोस्रो चरणको निर्वाचन पनि सबैको सहभागितामा सुनिश्चित गर्ने गरी पहिलो चरणको निर्वाचनभन्दा अझ राम्रो उत्सवको रुपमा सम्पन्न हुनेछ।’ दाहालको कथन थियो।

लामो समयदेखि कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्तिमाथिको विवाद अन्त्य भएको दाबी उनको थियो। पहिलो पटक प्रधानमन्त्री हुँदा सल्टन नसकेको यो समस्या दोस्रो पटक प्रधानमन्त्री भएसँगै आफूले थालेको पहलकदमीले समाधान गरेको उनले जिकिर गरे। अब कार्यान्वयनका लागि छिट्टै त्रिभुवन विश्वविद्यालयको सिनेट बोलाएर त्यहाँबाट अनुमोदन गरिने उनले आश्वस्त पारे।

आफू प्रधानमन्त्री एवं दुवै विश्वविद्यालयको उपकूलपति र आफ्नै पार्टीको शिक्षामन्त्री सहउपकुलपति हुँदा पनि समस्याको समाधान हुन नसके कहिल्यै नहुने ठानेर आफूले कदम चालेको उनले बताए।  प्रधानमन्त्री दाहालले भने, ‘आफ्नो ठाउँबाट निर्देशित गर्ने, तदारुकता देखाउने, सम्बन्धित कमिटीलाई झक्झक्याउने गर्दा झण्डैझण्डै बिदा हुने बेलामा आएर समस्याको मूलभूत रुपमा समाधान भएको छ।’

सोही अवसरमा कृषि विकास मन्त्री गौरीशंकर चौधरीले यो विश्वविद्यालय कृषि विकास मन्त्रालयअन्तरगत रहनुपर्ने बताए। विश्वका अन्य देशहरुमा पनि यस्तो प्रचलन रहेको भन्दै विश्वविद्यालय विकासका लागि कृषि मन्त्रालय राख्नुपर्नेमा जोड दिए। दिगो कृषि विकासमार्फत देशको अर्थतन्त्र उकास्न सकिने भन्दै उनले यस विश्वविद्यालयले अध्ययन अनुसन्धान र प्रसारमा लाग्नुले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने बताए।

सो कार्यक्रममा सांसदहरु शेषनाथ अधिकारी र कृष्णभक्त पोखरेलले चितवनवासीको ठूलो संघर्षबाट स्थापना भएको यस विश्वविद्यालयलाई संस्थागत रुपमा विकास गरेर लैजान सरकारी तवरबाट सहयोगको खाँचो रहेको बताए।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले जिल्लामा विश्वविद्यालय स्थापना गर्न संघको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा हालसम्मको उपलब्धीका बारेमा विश्वविद्यालयका उपकूलपति प्रा.डा.ईश्वरीप्रसाद ढकालले जानकारी गराएका थिए। हाल यस विश्वविद्यालयमा १ हजार ८ सय ८३ जना विद्यार्थी रहेका छन्। जसमध्ये स्नातक तहमा १ हजार ४ सय ७१ जना, मास्टर डिग्रीमा ३ सय ६७ जना र पिचडीमा ४५ जना अध्ययनरत छन्।  प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टरमा चितवन आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.