|

काठमाडौँ: पूर्व मन्त्री तथा माओवादी केन्द्रका सांसद उमेश यादवले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले राजविराजलाई उपमहानगरपालिका बनाउन सरकारसँग माग गरेका हुन्।

यादवले विज्ञप्तिमा लेखेका छन्, 'सगरमाथा अञ्चल सदरमुकामबाट परिचित एवं नेपालमै पहिलो टाउन प्लानिङबाट बसाइएको राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारसँग जोडदार माग गर्दछु।' उनले राजनीतिक भविष्य कमजोर हुने नाममा केही व्यक्तिले उपमहानगरपालिका बन्न नदिएको आरोप पनि लगाएका छन्।

'विराटनगरभन्दा पहिले नगरपालिका बनेको राजविराजलाई उपमहानगरपालिका बन्न नदिनका लागि विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरुले भूमिका खेलिरहेको कुरा राजविराजवासीलाई बिदितै छ', उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

राजविराजमा उपमहानगर बनाउने गरी पूर्वाधार विकास भएको समेत उनले दाबी गरेका छन्।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

सगरमाथा अञ्चल सदरमुकामबाट परिचित एवं नेपालमै पहिलो टाउन प्लानिङबाट बसाइएको राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारसँग जोडदार माग गर्दछु। विराटनगरभन्दा पहिले नगरपालिका बनेको राजविराजलाई उपमहानगरपालिका बन्न नदिनका लागि विगतमा मेयर बनेका तथा उपमहानगरपालिका बनेपछि आफ्नो राजनीतिक भविष्य नदेख्ने जस्ता व्यक्तिहरूले भूमिका खेलिरहेको कुरा राजविराजवासीलाई बिदितै छ।

राजविराज नगरपालिका तथा त्यस वरपरका गाविसहरूलाई गाभेर उपमहानगरपालिका बनाउन सम्पूर्ण पूर्वाधार रहेको हुनाले त्यसलाई उपमहानगरपालिका बनाउनका लागि मैले प्रधानमन्त्री क. पुष्पकमल दाहाल  प्रचण्डर स्थानीय निकाय पुनःसंरचनाका लागि अध्ययन गर्न बनेका कार्यदललाई समेत आग्रह गरिसकेको छु। साथै माओवादी केन्द्रको संसदीय दलले पनि राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने निर्णय गरिसकेकाले दोस्रो चरणको स्थानीय चुनाव हुनुअघि नै राजविराज नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्नका लागि जोडदार माग गर्दछु ।

यसका लागि सम्पूर्ण सहयोग पुर्‍याइदिनका लागि राजनीतिक शक्तिहरूलाई विनम्रताका साथ आग्रह गर्दछु।

उमेश यादव

सप्तरी क्षेत्र नं. ३ का सांसद

एवं पूर्व सिँचाइमन्त्री

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.