|

काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर आफूले ठूलो जिम्मेवारी पूरा गरेको दावी गरेका छन्।

प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई नै आफू र आफ्नो पार्टीको जीतको रूपमा लिएको प्रतिक्रिया पनि दिए। उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेर आफूले ठूलो सफलता हात पारेको उल्लेख गरे।

शुक्रबार चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनमा कांग्रेस, एमालेले जिते पनि आफूले जितेजस्तै लागेको बताए। निर्वाचनमा जसले जिते पनि अन्ततः देशकै जीत भएको दावी गर्दै प्रधानमन्त्री दाहालले सबैलाई गर्व गर्न आह्वान पनि गरे।

प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचनको तयारीमा सरकार जुटिसकेको पनि स्पष्ट पारे। उनले दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु चुनौती रहेको पनि बताए। प्रधानमन्त्री दाहालले सरकारको ठूलो मिहिनेतपछि पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको पनि बताए।

प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचनमा मधेसकेन्द्रित सबै राजनीतिक दलहले भाग लिने विश्वाससमेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.