|

काठमाडौं : ३४ जिल्लाको २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेसलाई जिल्ला सदरमुकाम र नगरमा उछिनेको छ।

३४ जिल्लामा भएको स्थानीय तहको निर्वाचनमा एमालेले १४ जिल्ला सदरमुकाममा आफ्नो झण्डा फहराउन सफल भएको छ। तर कांग्रेसले भने सात जिल्ला सदरमुकाममा मात्र आफ्नो बर्चश्व कायम गर्‍यो। माओवादी केन्द्रले भने सिन्धुपाल्चोक सदरमुकाम चौतारा र रुकुम सदरमुकाम मुसिकोटमा जित हासिल गर्‍यो। 

त्यस्तै, एमालेले तीन वटै प्रदेशमा गरी ३५ नगरपालिका र गाउँपालिका भएका दुई सदरमुकाममा कब्जा जमाएको छ। कांग्रेसले भने ३० नगरपालिका र एक गाउँपालिका भएको सदरमुकाममा आफ्नो स्थान सुरक्षित गरेको छ। माओवादीले भने १० वटा नगरपालिकामा मात्र जित हासिल गर्‍यो। 

३४ जिल्लामध्ये चार नम्बर प्रदेशमा रहेको नवलपरासीका आठ वटा स्थानीय तहमा सदरमुकाम पर्दैन। ३३ सदरमुकाममध्ये २३ जिल्ला सदरमुकामको परिणाम आएको छ भने सदरमुकाम रहेका चार महानगरपालिका, एक उपमहानगरपालिका र पाँच नगरपालिकाको मत परिणाम आउन बाँकी छ। त्यस्तै, सदरमुकामसहित ३३ नगरपालिकाको मतगणना भने भइरहेको छ।

स्थानीय तहको पछिल्लो मत परिणाम अनुसार एमालेले तीन र चार नम्बर प्रदेशमा पाँच/पाँच र छ नम्बर प्रदेशमा चार जिल्ला सदरमुकाममा जित हासिल गरेको छ। उसले तीन नम्बर प्रदेशका १४, चार नम्बर प्रदेशका ११ र छ नम्बर प्रदेशका १० नगरमा झण्डा गाडेको छ।

कांग्रेसले तीन नम्बर प्रदेशका एउटा पनि जिल्ला सदरमुकाममा जितेको छैन। यहाँ कांग्रेसले ७ नगरपालिकामा जित हासिल गरेको छ। उसले चार नम्बर प्रदेशमा चार सदरमुकाम र १६ नगरपालिकामा जितेको छ। छ नम्बर प्रदेशमा कांग्रेसले तीन सदरमुकाम र ७ नगरपालिका जित हासिल गरेको छ।

माओवादी केन्द्रले तीन नम्बर प्रदेशमा एक सदरमुकाम र तीन नगरपालिकामा जित हासिल गरेको छ भने चार नम्बर प्रदेशमा माओवादी केन्द्रले एउटा पनि सदरमुकाम र नगरपालिकामा जित हासिल गर्न सकेन। चार नम्बर प्रदेशमा भने माओवादीले एक सदरमुकाम र ७ नगरमा जित हासिल गरेको छ।

चार नम्बर प्रदेशमा पर्ने मुस्ताङ सदरमुकाम घरपझोङ, मनाङ सदरमुकाम चामे, रसुवा सदरमुकाम गोसाइकुण्ड र छ नम्बर प्रदेशमा पर्ने हुम्ला सदरमुकाम सीमकोट नगरपालिका होइनन्।  

मत परिणाम आउन बाँकी जिल्ला सदरमुकामहरु :

  • काठमाडौं महानगरपालिका
  • पोखरा लेखनाथ महानगरपालिका
  • ललितपुर महानगरपालिका
  • भरतपुर महानगरपालिका
  • हेटौंडा उपमहानगरपालिका
  • वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
  • धुलीखेल नगरपालिका, काभ्रेपलाञ्चोक
  • निलकण्ठ नगरपालिका, धादिङ 
  • भक्तपुर नगरपालिका, भक्तपुर
  • शारदा नगरपालिका, सल्यान  

मतगणना भइरहेका अन्य नगरपालिकाहरु :

  • बुढानिलकण्ठ नगरपालिका, काठमाडौं
  • तारकेश्वर नगरपालिका, काठमाडौं
  • सूर्यविनायक नगरपालिका, भक्तपुर
  • चन्द्रागिरी नगरपालिका, काठमाडौं
  • चाँगुनारायण नगरपालिका, भक्तपुर
  • मध्यपुर ठिमी, भक्तपुर
  • नमोवुद्ध नगरपालिका, काभ्रेपलाञ्चोक
  • महालक्ष्मी नगरपालिका, ललितपुर
  • खैरहनी नगरपालिका, चितवन
  • राप्ती नगरपालिका, चितवन
  • कालिका नगरपालिका, चितवन
  • रत्ननगर नगरपालिका, चितवन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.