१० वटै वडामा नेमकिपाले गाड्यो झण्डा

|

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन्। 

शुक्रबार राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरे।

२०६४ को संविधानसभामा भक्तपुरबाट सभासद् निर्वाचित प्रजापति भक्तपुर नगरको प्रमुख बनेका हुन्।  

त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरिन्।

जोशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गङ्गालक्ष्मी अवालले ६ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले ६ हजार ५८७ मत प्राप्त गरिन्।

विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी भएका हुन्। ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आएकी जोशी उपप्रमुख भएकी छन्। 

नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ। वडा नम्बर १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा कुमार चवाल, ५ मा प्रेमगोपाल कर्माचार्य, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा महेन्द्र खायमली, ९ मा रवीन्द्र ज्याख्वः र १० मा लक्ष्मीप्रसाद ह्यौमिखा अध्यक्ष विजयी भएका छन्।

कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.