स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

पुराना पार्टीको पैसा र बाहुबलका कारण भोट पाएनौं : बाबुराम भट्टराई
SHARES

जेठ ६, २०७४

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले पहिलो चरणको चुनावी समीक्षा गर्दै परिणाम आशा अनुरुप नभएको बताएको छ। संयोजक डा. बाबुराम भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै आशा अनुरुप नतिजा नआए पनि वर्ष दिनअघि खुलेको आफ्नो पार्टीले पाएको मतले धेरै सम्भावना देखाएको बताएका छन्।

    'समग्र परिणाम निश्चय नै हाम्रो आशा अनुरुप थिएन तर वर्ष दिन अघिमात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीले राष्ट्रिय रुपमा पाएको मतका आधारमा हाम्रो उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन' उनले भनेका छन् 'यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएका छन्।'  

    वैकल्पिक राजनीतिसँग डराएर आफूहरुलाई षड्यन्त्रपूर्वक दलीय निर्वाचन चिन्ह नदिएकाले निर्वाचनमा प्रभाव परेको नयाँ शक्ति नेपालले बताएको छ। त्यस्तै चुनावमा स्रोत साधनको अभावका कारण पुराना राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो भएको विज्ञप्तिमा जनाइएको छ।

    'पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई यो देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाइदिएका छन्' भट्टराईले विज्ञप्तिमा भनेका छन् 'यो उद्योग विघटन गर्ने र नैतिक राजनीति स्थापित गर्ने काम पक्कै कठिन छ।'

    काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रका मतदाताले पुराना शक्तिप्रति गहिरो सन्देह व्यक्त गरेको भन्दै भट्टराईले पुराना पार्टीहरुले सबै हथकन्डा अपनाएर जसरी पनि चुनाव जित्न मरिहत्ते गर्दा मत जोगाउन गाह्रो परेको बताए। 'पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरे र धेरै ठाउँमा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत पनि सुरक्षित गर्न कठिन भयो। हाम्रो ध्येय पवित्र हुँदाहुँदै पनि जनतासम्म त्यसको सम्प्रेषण गर्न र मत सुरक्षित गर्न हामी पछि परेका रहेछौं भन्ने हामीले स्वीकार गर्नुपर्छ' उनले भनेका छन्।

    उनले भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिहरुलाई रोज्न वाध्य हुन्छन् भन्ने पाठ पनि यो निर्वाचनले सिकाएको बताएका छन्। वैकल्पिक राजनीतिलाई स्थापित गर्न अझै धेरै काम बाँकी रहेको भन्दै भट्टराईले पुराना राजनीतिक दलको संरचना भत्काउन समय लाग्ने बताए। आफूहरुले कुनै खास शहरमा केन्द्रित भएर तत्काल चुनावी नतिजाको लागि काम गर्नुभन्दा वैकल्पिक राजनीतिलाई देशव्यापी विस्तार गर्ने काम गरेकाले चुनावी परिणाम कमजोर आएको भट्टराईले बताए।

    एजेन्डाको दृष्टिले नयाँ शक्ति पार्टी सर्वस्वीकार्य बने पनि संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउँदा दिनहरुमा अझै धेरै मिहिनेत गर्नुपर्ने देखिएको विज्ञप्तिमा भट्टराईले उल्लेख गरेका छन्। 'कतिपयले हाम्रो ‘मृत्युलेख’ लेख्ने हतार गर्नेछन्, तर हामी तिनलाई गलत सावित गरिछाड्नेछौं' उनले भने 'चुनावी अनुभवले हामीलाई आफ्नै पुनर्निर्माणको अवसर दिएको छ। त्यसबाट शिक्षा लिँदै हामी देशव्यापी रुपमा पार्टी संगठन पुनर्निर्माण र नवनिर्माण गर्दै जनता नजिक जानेछौं, जनतासँग अझै घनिभुत संवाद गर्नेछौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]