प्रतिस्पर्धामा रहेका पोखरा–लेखनाथका  कांग्रेस उम्मेदवार किन छन् निरास?

|

काठमाडौं: यतिबेला धेरैको ध्यान  ४ वटा महानगरपालिकाको मतपरिणाममा देखिन्छ। कसले जित्ला, कसले हार्ला र ठूला दलहरुको गठबन्धनको प्रभाव कस्तो देखिएला?यो धेरैको चासोको विषय बनेको छ।

तर, भूगोलको हिसाबले सबैभन्दा ठूलो महानगर तथा पर्यटकीय नगरी पोखरा–लेखानाथ महानगरपालिको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ। कांग्रेसको कमजोर उपस्थिति देखिएको काठमाडौं महनागरपालिकामा  समेत कति-कति बेला कांग्रेस उम्मेदवारले अग्रता कायम गरेका छन्।

मत गणना सुरु भएको ६ दिनसम्मको स्थिति हेर्ने हो भने धेरै प्रतिस्पर्धा भने ललितपुर महानगरपालिका र पोखरा लेखनाथ महानगरपालिकामा नै देखिएको छ। ललितपुरमा कहिले एमाले उम्मेदवार त कहिले कांग्रेस उम्मेदवारले अग्रता कायम गर्दै आएका छन् तर पोखरामा निरन्तर एमाले उम्मेदवारले अग्रताका कायम गरेता पनि मतान्तर धेरै छैन।

बिहीबार बिहानदेखि करिब २/३ सय मतान्तर देखिएकोमा शुक्रबार रातिसम्म १३ सयको मतान्तर पुगेको थियो। शनिबार बिहानसम्म मतान्तर केही बढेको छ। एमाले उम्मेदवार मानबहादुर जिसीले १९ हजार ९ सय ५१ मत पाउँदा कांग्रेस उम्मेदवार रामजी कुँवरले १८ हजार २ सय ५० मत पाएका छन्।

कांग्रेस उम्मेदवारमा निरासा

अहिलेसम्म पोखरा–लेखनाथ महानगरपालिकामा प्रतिस्पर्धा देखिएको छ। मतान्तर १७ सय ५ को मात्रै छ। मतगणना ३३ प्रतिशत मात्रै भएको छ। १ लाख २६ हजारमध्ये  शनिबार बिहानसम्म ४२ हजार मतगणना भएको छ।

तर, नेपाली कांग्रेसका तर्फबाट महानगर प्रमुखका उम्मेदवार रामजी कुँवर भने निरास छन्। 'प्रतिस्पर्धा अहिले पनि कायमै छ, तर कांग्रेसको राम्रो भएको वडामा लिड गर्न नसक्ने, एमाले उम्मेदवारले बढी भोट पाउने कुरालाई खै के भन्नु र' थाहा खबरसँग कुँवरले भने। '८० हजार भोट गन्न बाँकी नै छ,हारिन्छ वा जितिन्छ भन्ने विषयमा भन्दा पनि जसरी भोट खसेको छ, त्यो निरासाजनक छ' कुँवरले थपे।

७७ प्रतिशत मत गणना नसकिँदै नगरसभापतिको किन भयो राजीनामा?

निर्वाचन आयोगको तथ्याङ्कअनुसार पोखरामा ७५ प्रतिशत भोट खसेको छ। पोखरा लेखनाथ महानगरपालिकामा पनि औसत ७५ प्रतिशत गन्दा १ लाख २६ हजार मत खसेको छ। तर शुक्रबार बिहान १० बजेसम्म ३० हजार मत गणना पनि भएको थिएन अर्थात् जम्मा २३ प्रतिशत जति मतगणना हुँदै गर्दा कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठले राजीनामा दिए।

उनले राजीनामा दिएको कारण खुलाएका थिए पार्टी भित्रको अन्तरघात। तर उनले राजीनामा दिँदै गर्दा कांग्रेस र एमाले उम्मेदवार बीचको मतान्तर जम्मा ३ सय ६ मतको थियो। त्यतिबेला एमाले उम्मेदवारले ४८ सय ५१ र कांग्रेस उम्मेदवारले ४५ सय ४५ भोट पाएका थिए। तर, सभापति श्रेष्ठले गम्भीर अन्तरघात भएको र यस विषयमा पोखरबाटबाट चुनिएका नेताहरुलाई समेत प्रश्‍न खडा गर्दै नगरसभापतिबाट राजीनामा दिए।

अन्तर्घात भएको भन्दै कांग्रेस नगरसभापतिले राजीनामा दिएको अवस्था र प्रतिस्पर्धी उम्मेदवारसमेत निराश रहँदै गर्दा एमाले उम्मेदवार आफूलाई आएको भोटबाट सन्तुष्ट छन्। 'मैले जसरी भोट आउँछ भनेर सोचेको थिएँ त्यस्तै भोट आएको छ अब त जितिन्छ नै' एमाले उम्मेदवार जिसीले थाहाखबरसँग भने। 'रोज्न पाउने जनताको अधिकार हो अन्य पदमा कांग्रेसलाई रोजेर प्रमुखमा मलाई भोट आएको छ' उनले थपे।

कांग्रेसमा भएकै हो त अन्तर्घात?

'कस्तो अचम्मको भोट खसेको छ, ६ वटा छाप रुख, एउटा छाप मात्रै  सूर्यमा आएको छ यसलाई हामीले कसरी लिने' कांग्रेस उम्मेदवार कुँवरले भने। उनका अनुसार वडा २, ४, ८, १०, ११ र १२ मा यो शैलीमा भोट खसेको छ।

त्यसो त वडा १२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवारले १ हजार ८६ मत पाउँदा प्रमुखमा भने ८ सय ५३ मत खसेको छ। प्रमुखबाहेक अन्य सबै पदमा ९ सयमाथि भोट आएको छ।

त्यस्तै,  वडा १० मा प्रमुखमा कांग्रेस उम्मेदवारलाई ७ सय १५ मत आउँदा उपप्रमुखका ७ सय ७७ र ८ सय १५ भोट वडाध्यक्षमा आएको छ। तर एमाले वडाध्यक्षको उम्मेदवारलाई ६ सय ४ र प्रमुखको उम्मेदवारलाई ७ सय ३४ मत आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.