|

क्रान्ति समाजको परिवर्तनसँग जोडिनुपर्छ। क्रान्ति विशेषत: सामाजिक अन्यायका चरित्रको न्यायमुक्ति र समृद्धिसँग जोडिनुपर्छ। क्रान्तिको बाटो कहिले ध्वसंबाट पुनर्निर्माण हुँदै त कहिले शान्तिपूर्ण आन्दोलनमार्फत सफल भएको पाइन्छ।

'क्रान्ति' निश्चित राजनीतिक उद्देश्य र देशको समृद्धि हासिल गर्नको लागि गरिएको हुन्छ। राजनीतिक नेता र दलहरूले देशको परिस्थितिअनुसार क्रान्ति र त्यसको मार्ग चित्रण गर्छन्। क्रान्तिको सार्थकता र सफलता प्रत्यक्ष रूपमा नेतृत्वको दूरगामी चरित्रसँग जोडिएको हुन्छ। यसै कारण क्रान्तिको सफलता/असफलता देशको आवश्यकता र नेतृत्वको चरित्रले निर्धारण गरेको हुन्छ।

चाहे २००७ सालमा भएको परिवर्तनको क्रान्ति होस् वा २०४६ सालको क्रान्ति होस् अथवा २०६२/०६३ सालमा गरिएको  परिवर्तनको क्रान्ति नै किन नहोस्, यी सबै 'क्रान्ति' देशको राजनीतिक परिवर्तनका लागि गरिए। धेरै 'शहीद' बने, धेरै टुहुरा बने, धेरै अंगभंग भए। अन्तत: सबै क्रान्ति सफल  भए।  तर क्रान्तिले बोकेको देश निर्माणको सपना सधैँ किन असफल भयो? प्रत्येक दशक दशकमा किन राजनीतिक संक्रमणकाल दोहोरियो? देश निर्माणमा दलीय ध्रुवीकरण किन भएन? यी प्रश्नहरूको उत्तर कहाँ छ?

देशमा २००७ सालदेखि २०६२/०६३ सालसम्मका क्रान्तिको विगुल फुक्दै सोझा जनतालाई आन्दोलनमा प्रयोग गरियो। परिणाम स्वरूप आन्दोलनहरू पनि सफल भए। तर आन्दोलनका निम्ति उक्साउने दलीय नेतृत्व नै क्रान्तिका लागि प्रतिकूल बने।  बाहिर कार्लमार्क्स, लेलिन र वीपीको फोटो टाँसेर भित्र 'नातावाद' र 'गुन्डावाद'को जयजयकार गर्ने राजनीतिक भ्रष्टाचारीकै कारण  राज्यको व्यवस्थामा शाब्दिक परिवर्तन भए तापनि जनतहमा कुनै खास परिवर्तन आएन। बरु उल्टै राजनीतिक दलहरू र नेतृत्वहरूले शासन र सत्ता टिकाउनका लागि राष्ट्रिय स्वाधीनता र गौरवहरू छिमेकीलाई सुम्पिने क्रम बढेको छ।

यसको अर्थ जनताको योगदान र बलिदान राजनीतिक दलहरूलाई सत्तामा पुर्‍याउने भर्‍याङ बन्यो, जनताहरू केवल योगदानमा ढाल बने।

न ओठ माथि जुँगा पाल्दैमा स्टालिन भइन्छ, न तालुका रौँ झर्दैमा गान्धी भइन्छ। न त अनुहार कालो हुँदैमा मण्डेला नै भइन्छ वा न अनुहार नै छोप्ने गरी दारी पाल्दैमा मोदी नै भइन्छ। भइन्छ त मनदेखि नै राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने भावनाले आत्मादेखि नै 'इमान्दारी' र 'त्याग 'बोकेर आफ्नो जीवन नै राष्ट्रका लागि समर्पण गर्दा मात्र केही भइन्छ l 

पछिल्लो पटक दलहरूमा स्वार्थ नमिल्दा क्रान्तिको अपरिहार्यताको निकै विगुल फुकिन्छ तर क्रान्ति किन र केको लागि गरिन्छ? त्यो कसैले पनि भन्दैनन् र सिधै क्रान्ति गर्नुपर्छ मात्र भन्छन्। अब क्रान्ति किन र केको लागि गर्ने त भनेर जनताले पनि सोध्ने बेला भएन र?
सबैभन्दा पहिले क्रान्ति केका निम्ति?  कसका निम्ति?  भन्ने प्रश्नहरूको जवाफमा दलहरू र नेतृत्वहरूको जवाफ आउँछ, परिवर्तनको निम्ति, जनताको मुक्तिका निम्ति।

तर क्रान्ति र आन्दोलनहरूको सफलतापश्चात जनता गरिबीकै कारण  भोकभोकै मर्ने, कालोबजारी र भ्रष्टाचारीलाई प्रश्रय दिने, बलात्कारी र आतंककारीहरूलाई पार्टीकै झण्डा बोकेकै कारण  राजनीतिक नियुक्ति दिनेजस्ता सवालहरूले ती आन्दोलन र आन्दोलनमा समाहित हुने जनता र उनीहरूको योगदानको खिल्ली उडाइरहेका छन्।

देशको आवश्यकतामा बलिदान र त्याग गर्ने जनता आज सहाराविहीन छन्। राजनीतिक नेतृत्वहरूले सार्वजनिक कार्यक्रममा माइक्रोफोनमा गर्धन फुलाउँदै जति कुर्लिए पनि मृत्युशैयामा अस्पतालका बिरामीहरूले गरिबीकै कारण आत्महत्या गर्ने क्रम रोकिएको छैन।

विकासे भाषण जति ठोके पनि नौजवान युवाहरू परदेशिने क्रम बढेको छ। सामाजिक सुरक्षा र लैंगिक विभेदका भाषण जति ठोके पनि छुवाछत र जातीय विभेद र महिला हत्याहिंसाका घटनाहरू रोकिएका छैनन्, किन? राज्य व्यवस्था  र तन्त्रको परिवर्तन भए तापनि राजनीतिक प्रदूषण, सामाजिक असुरक्षा, भ्रष्टाचार दिनहुँ बढ्दो छ। कारण, जबसम्म आर्थिक रूपमा देश र जनता समृद्ध हुनसक्दैनन्, जुनै राजनीतिक व्यवस्था आए पनि त्यसको कुनै जनअसर र दिगोपन हुँदैन।

राजतन्त्र र पंचायतलाई विकासविरोधी देखाउने दलहरूले आज किन गणतन्त्रमा विकास गर्न सकेका छैनन्? विश्वमा सफल मुलुकहरूमा रहेका राजनीतिक दर्शन र राजनीतिक दलहरूको अनुकरण गरी स्थापना गरिएका दलहरूले किन देश विकासमा टेवा पुर्‍याउन सकेनन्?

पछिल्लो वि. सं. २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको 'जनयुद्ध'ले गरिब, निमुखा, महिला, जनजाति, उत्पीडित र उत्पीडनमा परेका बहुसंख्यक नेपालीको परिवर्तनका लागि थियो, जुन क्रान्ति पूरै कालखण्ड नै फेर्नका लागि  उद्घोष गरिएको थियो। त्यो क्रान्ति केही हुनेखाने वर्गको थुप्रै हुँदा खाने वर्गमा गरिएको शोषणको विरुद्ध सञ्चालन गरिएको थियो।

तात्कालीन 'शोषक' वर्ग देख्दा, भ्रष्टाचारी कर्मचारीतन्त्र देख्दा, त्यो जातिभेद र वर्गभेद देख्दा क्रान्तिको राँको यसरी दन्किएको थियो कि तपस्यामा बसेको तपस्वी पनि बन्दुक बोकेर युद्धमा हिँडेका थिए। पेटमा भोकको राँको बालेर बसेका गरिबहरू निधारमा हँसिया-हथौडा झण्डा अंकित रातो कफन बाँधेर बलिका बोकाझैँ मर्नका लागि तयार थिए।

तर शान्ति प्रक्रियापश्चात कथित क्रान्तिका नेतृत्वको चर्तिकला देख्दा त्यो बेला आफ्नो जिन्दगी नै  समर्पण गरेर युद्धमा होमिएका योद्धाहरूको  मन कति आक्रोशित होला?

परिवर्तनका लागि लालसेनाको शरीरका अंगअंगमै लुकेर बसेका गोलीहरूले कति सरापेका होलान्? फाटेका चोलीका तुना बाँध्दै युद्धमा मरेका सन्तानको सम्झनामा पलपल मुर्छा पर्ने आमाको आँसुको मूल्य कसरी चुक्ता होला? अभिभावक गुमाएका  बालबालिकाहरूको भविष्य कसरी जोडिएला? यही दिनमा पुर्‍याउनका लागि जनयुद्ध गरिएको थियो? के निमुखाको रगतको आहालमा पौडी खेलेर सत्ता र भत्तामा भुँडी फुलाउनका लागि मात्र जनयुद्ध आवश्यक थियो?

जनयुद्ध एउटा मात्र पछिल्लो राजनीतिक आन्दोलन थियो, जनयुद्ध जस्तै थुप्रै राजनीतिक आन्दोलनहरूले गरिव र उत्पीडित बस्तीहरूमा धेरै सपना बाँड्ने काम गरे तर बदलामा जनताका लाश र पीडा मात्र दिलाए।

अर्कोतर्फ संविधान जारीपश्चात देशमा सत्ता समीकरण र गठवन्धनमा अनौठा अभ्यासहरू देखिए। राजनीतिक दर्शन र वादमा पानि बाराबार गर्ने दलहरूको समीकरण बन्यो। संविधानसभावाट जारी संविधानलाई नमान्ने दलहरूले नै संविधान पालनकर्ताको जिम्मेवारी लिए। संविधानसभाबाट संविधान जारीका निम्ति लड्ने दलहरू सडकमा पुगे। राजनीतिक दर्शन र देशको विकासभन्दा पनि दलहरूमा सत्ता प्रयोगको सिद्धान्त हावी देखियो। यसबाट के बुझ्न सकिन्छ भने राजनीतिक दलहरूको साझा उद्देश्य भनेकै फरक फरक राजनीतिक वादको नाउँमा दलीय स्वार्थमा जनता प्रयोग गरी राज्यसत्ता कब्जा गर्ने हो।

होइन भने राजतन्त्र र पंचायतलाई विकासविरोधी देखाउने दलहरूले आज किन गणतन्त्रमा विकास गर्न सकेका छैनन्? विश्वमा सफल मुलुकहरूमा रहेका राजनीतिक दर्शन र राजनीतिक दलहरूको अनुकरण गरी स्थापना गरिएका दलहरूले किन देश विकासमा टेवा पुर्‍याउन सकेनन्? कुनै पनि उत्पादित राजनीतिक वादमा राजनीतिक दल खोल्ने बाँकि नरहेको हाम्रो देश किन आज अल्पविकसित राष्ट्रहरूको समूहमा रहन पुग्यो?

सबै प्रश्नहरू अनुत्तरित छन्। सही समयमा नै उचित उत्तर खोज्न सकिएन भने मुलुक युवाविहीन, भ्रष्टाचारयुक्त र चरम राजनीतिक संक्रमणकालमा फस्दै छ। देश दिन प्रतिदिन गरिबीको चपेटामा फस्नेछ। युवाशक्ति जोखिमयुक्त वैदेसिक रोजगारिका लागि जान बाध्य हुनेछ। देश राजनीतिक भ्रष्टाचारीहरूको अखडा बन्दै जानेछ।

नयाँ संविधान जारीपश्चात देश आर्थिक समृद्धिको बाटोमा प्रवेश गरेको छ। वीरता र वंशजको गाथा र कथा होइन, इतिहासप्रति सम्मान तथा वर्तमान र भविष्यप्रति योगदान दिन सक्ने राजनीतिक नेतृत्वको खाँचो छ अहिले। विगतको सफलता/असफलताको शिक्षा, वर्तमानको जटिलता र प्रतिकूलता तथा भविष्यको गोरेटो खन्न सक्ने व्यक्ति नै अबको राजनेता हुने हो।

मुलुकमा लामो समयदेखि लगानी गर्ने वातावरण कुरेर बसेका छन् लगानीकर्ताहरू। परिवारको खुसीका लागि थाप्लोमा ऋणको भारी बोकेर परदेसिएका युवाहरू देश निर्माणका निम्ति स्वदेश फर्कन आतुर छन्। जनताको अपेक्षा दलहरूबीचमा गुट र उपगुट होइन, एउटा परिवर्तनको सोच र सुन्दर नेपाल स्थापना गर्ने निस्वार्थ विचार बोकेका पार्टीहरूको एकतामा जोड छ।

समर्द्ध राष्ट्र निर्माणका लागि अब पत्रकारबाट सत्यको पक्षमा कलम दौडाइनेछ, गरिव बिरामी बचाउन पेशाप्रति निष्ठावान् चिकित्सकहरू अहोरात्र खट्नेछन्। विदेसिएका ६० लाख युवा भोलि आफू परदेसिएझैँ अरू कोही परदेसिन नपरोस् भन्दै परिवर्तनको आवाज बोकेर फर्कनेछन्।

कत्ति पनि ढिला नगरीकन विगतका कमजोरीलाई भुलेर, गल्तीलाई सच्याएर सच्चा राष्ट्रभक्तिको परिचय दिने समय आएको छ। जातीय, धार्मिक र क्षेत्रीय सम्बन्ध खल्बल्याएर होइन, सबैलाई एकताको मालामा बाँध्ने गरी सिंगो देशको झण्डा बोकेर हातेमालो गर्ने बेला आएको छ।

विगतमा ढुंगामुडाको क्रान्ति हेरियो, खुकुरी साटासाटको क्रान्ति हेरियो, बम र बारुदको क्रान्ति हेरियो। अब एउटा क्रान्ति हेर्नु छ- सहमति र समृद्धिको। हाम्रो  देश नेपाल भन्दा लाजले टाउको निहुराउने होइन, गर्वले छाती फुलाउने मन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.