|

काठमाडौं : सरकारले आर्थिक वर्ष ०७४/0७५ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो। नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्नेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

'नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइन्छ', सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताए। आंशिक बजेटअन्तर्गतको सो नीति तथा कार्यक्रम यही १० जेठभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्‍मा पेस गर्ने मन्त्री कार्कीको भनाइ छ।

सरकारका प्रवक्ता कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित रहेको जानकारी दिए। 'बजेटबारेमा नेकपा एमालेलगायत प्रतिपक्ष दलका केही असहमति छन्, उनले भने, 'हामी त्यसबारे निरन्तर अन्तरसंवादमा छौं हिजो शनिबार मात्रै तीन प्रमुख दलबीच छलफल भएको छ, छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.