|

चितवन : नेकपा माओवादी केन्द्र  र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकाको नेतृत्व लिन पाउलिन्? कि मतपरिणाम एमालेको पोल्टामा जाला? यो प्रश्न अहिले स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरुमा समेत उब्जिएको छ।

पत्रकारदेखि राजनीतिक नेता कार्यकर्ताहरु कुनै न कुनै माध्यमबाट चितवनको मत परिणामको जानकारी लिन आतुर छन्। १० वटा वडाको मतगणना सकिँदा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार दाहाल र एमाले उम्मेदवार देवी ज्ञवाली प्रतिस्पर्धात्मक रुपमा अघि बढेरहेका छन्। अहिले नै भरतपुर महानगरपालिका प्रमुख कसले जित्छ कसैले आँकलन गर्न सकिरहेका छैनन्।

भरतपुरमा रेणुले नजिते कांग्रेस-माओवादी गठबन्धन धरापमा पर्न सक्ने भय छ। एमालेले ठूलो सफलताको उत्सव मनाउने छ।

राजनीतिक अवस्था

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सभामा केही हप्ताअघि चितवन आएर गठबन्धन, प्रान्तीय चुनाव नहुँदासम्म जारी रहने उद्घोष गरेका थिए। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको चुनावी तालमेललाई ऐतिहासिकको संज्ञा दिंदै सही ठाउँमा सही निर्णय गरेको दावी गरेका थिए।

उनीहरुको उद्देश्य मतदातामा उर्जा भर्नु र हसिया हथौडा कांग्रेसको पनि र रुख माओवादीको पनि चुनाव चिन्ह हो भनेर कार्यकर्तालाई बुझाउनु थियो।  हुन त विपरीत ध्रुवका यी दुई दल मिलेर चुनाव लड्नुलाई नै एकथरीले आश्चर्य मानेका छन्। कतिपयले राजनीतिमा जे पनि हुन्छ भन्ने भनाइको गतिलो उदाहरण यही हो भन्ने गरेका छन्।

प्रचण्ड र देउवाले एउटै मञ्चबाट गठबन्धनको महत्व दर्शाइरहँदा चितवनकै अर्को मञ्चमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले, ‘पहिले टाउकाको मोल तोक्ने, अहिले टाउकोमा बोक्ने?’ भन्दै कटाक्ष गर्न समेत भ्याए। त्यसैले पनि गठजोड जोगाउन गठबन्धनलाई रेणुको जित जरुरी हुन्छ।

मत परिणाम विश्लेषण

सुरुवाती मत परिणामले रेणु दाहाललाई चुनौती दियो। भरतपुर महानगरमा सुरुका ३ वडाको मतपरिणाम सार्वजनिक हुँदा दाहालको पक्षमा आशातित मत आएन। ती वडाका करिब ५० प्रतिशत कांग्रेस कार्यकर्ताले मात्र रेणुलाई मत दिएको देखियो, बाँकी मतमध्ये केही एमाले उम्मेदवारले पाए भने केही बदर भयो। पहिलो एकसय मत गन्दा ९ मत रुख र हँसिया हथौडा दुबैमा परेको पाइयो। केन्द्रीय निर्णय लादेकाले पनि यस्तो अवस्था सिर्जना भएको एकथरी कांग्रेस कार्यकर्ता बताउँछन्। कांग्रेसका पुराना नेता हँसिया हथौडामा भोट हाल्ने पक्ष मै देखिएका थिएनन्। जुन मतपरिणामले पनि देखायो।

वडा नम्बर १ देखि पाँचसम्मको मत गन्दा रेणु दाहाल र देवी ज्ञवालीको मतान्तर २ हजार नजिक पुगेको थियो। वडा नम्बर ३ गन्नुअघि रेणु दाहाल १४०९ मतले पछि परिन्। त्यो १४०९ मत तीन नम्बर वडाले कभर गर्ने आशा थियो गठबन्धनलाई। तर त्यसो हुन सकेन, मतान्तर झन् ३०० थपिएर १७०० नाघ्यो।

वडा नम्बर १ र २ एमालेको पकड क्षेत्र हो भने ३ कांग्रेसको पकड क्षेत्र हो। एमालेको पकड हुँदाहुँदै पनि वडा नम्बर १ मा झिनो मतले वडाअध्यक्ष कांग्रेस उम्मेदवार निर्वाचित भए। तर रेणुलाई जसरी आउनुपर्ने हो त्यसरी मत आएन। ३ नम्बर वडा राम्रै मतले कांग्रेसले जित्यो। वडा नम्बर २ मा एमालेले जित्यो।

वडा नम्बर ३ को २ हजार मत गन्दा १ हजार मत कांग्रेसको पोल्टामा पर्‍यो। तर रेणुको पक्षमा जम्मा ६०० मात्रै मत आयो। २०० मतदातामध्ये १५० माओवादीको आफ्नै थियो। ४५० मत मात्रै कांग्रेसको पर्‍यो अरु कांग्रेसको ५५० मत भने एमाले लगायतमा गएको तथ्यांकले देखाउँछ।

हुन त यो क्षेत्रमा मत धेरै आउँछ भन्ने आशा माओवादीलाई थिएन तर तालमेलले पक्कै हाराहारी पार्छ भन्ने थियो। त्यो हुन सकेन। माओवादीका एक जना नेताले ५,६ वडासम्ममा माओवादी पछि नै पर्ने बताएका थिए। त्यसपछि रेणुको पक्षमा मत आउने उनको दावी १० वटा वडा गन्दासम्म पुरा हुन सकेन। नारायणगढ बजार क्षेत्रका मतदाताले रेणुलाई भोट नदिएको कांग्रेस कार्यकर्ताहरु बताउँछन्।

कांग्रेसको भरतपुर महानगर प्रमुखका उम्मेदवार दिनेश कोइरालाले सभापति देउवाको ठाडो हस्ताक्षरमा उम्मेदवारी फिर्ता लिएका थिए। चुनावमा उनले साथ नदिन सक्छन् भन्ने आँकलन थियो।

वडा नम्बर पाँचमा देखिएको फराकिलो मतअन्तर वडा नम्बर ६ गन्दा रेणुले ५०० मा झारिन्। तर उक्त वडामा भने कांग्रेसको मत ६५ प्रतिशत भन्दा माथि रेणुलाई आयो। कोइरालाको राजनीतिक जीवन नै धरापमा पर्न सक्ने सो क्षेत्रमा राम्रो मत आएपछि उनको राजनीति यात्रामा धब्बा नलाग्नु उनका लागि सफलता हो। यसले सालाखाला अहिलेसम्म ५० प्रतिशतको हाराहारीमा कांग्रेसको मत रेणुले पाएकी छिन्। यसमा केही सुधार आयो भने रेणुको जित पक्का हुन्छ।

अब के होला?

भरतपुर महानगर वडा नम्बर २ सहित ४, ५, ९, १०, ११, १२, १६ र २८, २९ वडा एमालेको पकड क्षेत्र हो। अझै मुख्य पकड ४, १०, ११, १२ र २८, २९ हो। ११ र १२ वडा गन्न बाँकी भएपनि अरु वडामा एमालेको आशातित मत आएन।

वडा नम्बर ३ र वडा नम्बर ६ कांग्रेस र वडा नम्बर ९,१० एमाले वडाअध्यक्ष जित्यो। अन्य वडाहरुमा मिश्रित परिणाम आएपनि केही सयले देवी ज्ञवालीले नै मत थप्दै गए। २ वडा गनेपछि एमालेको पकड भन्ने क्षेत्र न्युन छ।

मतगणना हुन बाँकी रहेको क्षेत्रमा कांग्रेसको पकड धेरै छ। भरतपुर वडा नम्बर ६ गीतानगरमा जस्तो कांग्रेसको मत रेणुलाई खसेमा उनको जित फराकिलो अन्तरले हुन्छ। हाल गनिसकेका वडाहरुमा झै मत आएमा रेणुलाई जित्न गाह्रो देखिन्छ। त्यसमा केही प्रतिशत सुधार भयो भने रेणुको जित्ने आधार बलियो रहन्छ।

अधिकांश वडाहरुमा एमालेले कब्जा जमाउँदै आएकाले पश्चिमको माओवादी कांग्रेसको प्रभाव क्षेत्रमा पनि देवीलाई भोट राम्रै खस्ने देखिन्छ। भरतपुरका शुरुआती वडाहरुको नतिजाले त्यस्तो संकेत पनि गरेको छ। वडा नम्बर १, ३, ६, ८, १५, १७, १८ १९ कांग्रेसको प्रभाव क्षेत्र हो । वडा नम्बर १३, १४, २३, २४, २५, २६ वडा माओवादीले आफ्नो पकडको रुपमा विश्लेषण गरेको छ। यद्यपी केही वडा एमालेले पनि बराबरी या केही सयको तलमाथि मत ल्याउने पक्का छ।

पश्चिम चितवनको शिवनगर, पटिहानी लगायत क्षेत्रका वडाहरु माओवादीको पकड क्षेत्र हो। अब गन्न बाँकी रहेको क्षेत्र कांग्रेस माओवादीको बढी देखिन्छ। तर अहिलेको मतपरिणामले केही फरक दृष्यहरु भने देखिएका छन्। यद्यपी अहिले १० वटा वडा गनिसक्दा कसले जित्ला भनेर विष्लेषण गर्न अलि हतारो हुन्छ।

शिवनगर प्रचण्डको घर भएकाले पनि त्यहाँबाट रेणुलाई धेरै मत आउने अनुमान छ।  एमालेका नगर प्रमुखका उम्मेदवार देवी ज्ञवाली कांग्रेस र राप्रपा दुबैको मत आफुलाई आएको दावी गर्छन्। उनले एक हजार देखि २ हजारसम्मको मतले आफुले जित्ने दावी गर्दै आएका छन्। रेणुको दावी पनि यस्तै छ। तर धेरै मतअन्तर भने हुँदेन भन्ने अहिले ३५ प्रतिशत गनेको मत परिणामले देखाउँछ।

चितवनको साविक क्षेत्र नम्बर ४ कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोस्रो संविधानसभा चुनावमा जितेको क्षेत्र को। यो क्षेत्रको मतगणना नभएसम्म भोट कता खस्छ विश्लेषण गर्न गाह्रो छ। तर भरतपुरको अहिले गणना शुरु भएको एमालेको पकड क्षेत्र २९,११ र १२ वडाको मतपरिणामले एउटा आँकलन दिन्छ। यो क्षेत्रमा पाँच हजार माथि लिड गर्ने योजना एमालेको  छ।

तर वडा नम्बर १० को पुरै र २९ को आंशिक गणनाले त्यति ठूलो अन्तर आउँछ भनेर भन्न सकिने बलियो आधार देखिंदैन। वडा नम्बर १० पुग्दा ३९४ को मतान्तर थियो।  वडा नम्बर १० को गणना सम्पन्न गर्दा ८८५ मतले देवी ज्ञवाली अगाडि भए।

वडा नम्बर १० को मात्रै मतपरिणाम हेर्दा देवीले जम्मा ४९१ मत मात्रै बढी ल्याए। यो मत एमालेका लागि ठूलै चुनौती हो। १० मा एक हजार मत बढी ल्याउने एमालेको दावी थियो। वडा नम्बर ११ को आधा मत गन्दा आज १ हजार ४१ मतान्तर छ। जबकी कविलासमा माओवादीको गाउँ नेता सहित सबै एमालेमा प्रवेश गरेका थिए।

यो भरतपुर वडा नम्बर ११, १२ ले केही आँकलन दिन्छ भने साविक क्षेत्र नम्बर ४ को सुशील कोइरालाको क्षेत्रको मतले रेणुको जित र हार निर्धारण गर्छ। तर एमालेको पकड क्षेत्रको मतले रेणुलाई बलियो बनाउँदै लगेको हो कि भन्ने देखिन्छ। कांग्रेस माओवादीले पनि यो मत परिणामले आशा बलियो भएको बताउँछन्। तर कांग्रेस माओवादी पकड क्षेत्रको भोट पनि देवीले राम्ररी चोरिरहेका छन्।

चितवनमा राप्रपाको जसरी मत आउने देखिएको थियो त्यो अहिलेसम्म देखिएको छैन। यसले पनि एमालेलाई बल दिएको छ।

यस्तो छ मतको जोडघटाउ

भरतपुरमा कुल १ लाख १२ हजार ७४१ मत खसेको छ। यो मत हेर्दा नगर प्रमुखमा विजय हुन ४५ देखि ५० हजार मत जित्नेले ल्याउनुपर्छ। आन्तरिक विवाद कै कारण उपप्रमुखमा पनि कांग्रेसले सोचे अनुसार मत पाउन नसकेपनि जित्ने सम्भावना बलियो छ। आइतबार १२ बजेसम्मको मत परिणाम हेर्दा गठबन्धनको उपप्रमुखमा सबैलाई जित्दै पार्वती शाहले झण्डै २० हजार मत ल्याइसक्दा प्रमुखकी रेणुको १७ हजार १४४ छ।

पार्वतीलाई मत दिनेले रेणुलाई नदिएको तथ्यांकले देखाउँछ। पार्वतीलाई दिएको भोट धेरै एमालेमा परेको छ भने केही बदर छ। हुन त खसेको मतमा पार्टीका आआफ्नै दावी छ। पार्टीको आआफ्नै भनाईमा कांग्रेसको ४० हजार, एमालेको ३५ हजार र माओवादी केन्द्रको २० देखि २५ हजार मतदाता रहेको अनुमान छ । अरु मतदाता अन्य पार्टी र बीचका छन्।

यसरी हेर्दा कांग्रेसका आधा कार्यकर्ताले मात्रै मत दिएमा पनि रेणुले जित्ने माओवादीको दावी छ। तर राप्रपा, अन्य दल र कांग्रेसकै पनि भोट देवीको पक्षमा गएकाले जित्नलाई ५५ देखि ६० प्रतिशत कांग्रेसको मत रेणुलाई खस्नुपर्छ। नत्र देवी ज्ञवाली भरतपुर महानगरको प्रमुख बन्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.