|

काठमाडौँ: पत्रकार तथा चलचित्रकर्मी डब्बु क्षत्रीको पहिलो कथासंग्रह 'नमस्ते काठमान्डु' शनिबार राजधानी काठमाडौँमा सार्वजनिक भएको छ।

सर्वनाम नाटकघरमा शनिबार त्यहीँका कलाकारहरूले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे। संग्रहका कथामा आधारित गीत 'नमस्ते काठमान्डु...' कार्यक्रममा सर्वजनिक गरिएको थियो। जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वरमा रहेको यस गीतमा कथाका सबै शीर्षक र भाव समेटिएको छ। राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरूले अभिनय पनि प्रस्तुत गरेका थिए।

पुस्तक लोकार्पणपछि आयोजित अन्तर्क्रियामा अभिनेत्री ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरू आफ्नै समाजमा देख्दै आएको बताइन्।संग्रहका थुप्रै कथाका पात्रहरू आफूलाई मनपरेको बताइन्।

पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आवद्ध भएकाले उनका कथामा पत्रकारिताको लेखनशैली झल्किएको बताए। कथाहरूमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका वर्गअनुसारको यौन अवस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए।

उपन्यासकार जया ओझाले क्षत्रीका कथाहरू यौनमा केन्द्रित भएर पनि अश्लील नभएको बताइन्। कथाकार क्षत्रीले आफूले समाजमा देखेका घटनाहरूलाई कथामा ढालेर संग्रहमा ल्याएको बताए। 'नमस्ते काठमान्डु'का कथाहरू यौन अश्लीलता नभएर यौन विद्रोह हुन् भन्ने दाबी कथाकार क्षत्रीले गरे। समाजमा देखेको घटनालाई कथामा बुनेको पनि उनले बताए। 

'नमस्ते काठमान्डु'को प्रकाशक शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नयाँ प्रयोग आफूले यस पुस्तकमा पाएकोले यो संग्रह प्रकाशन गरेको बताए। संग्रहमा १८ ओटा कथा रहेका छन् भने यसको मूल्य ३५० रूपैयाँ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.