|

  • सन्तोष अधिकारी-

गोरखाः २०६४ सालयता देशमा दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो। दुवै निर्वाचनमा गोरखाका तीनवटै क्षेत्रमा माओवादी हावी भयो। 

तत्कालीन गोरखामा माओवादीको प्रतिद्वन्द्वी नेपाली कांग्रेसले दुवै निर्वाचनमा कुनै पनि क्षेत्रमा आफ्नो जीत हासिल गर्न सकेन। सबै क्षेत्रमा माओवादीका नेताहरूले विजय हासिल गरे। तर, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखामा त्यस्तो भएन। २०६४ र २०७० सालको निर्वाचनमा माओवादीले जस्तो एकछत्र राज चलाउन नपाए पनि अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले माओवादीलाई राम्रैसँग पछार्‍यो। 

गोरखाका ११ स्थानीय तहमा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ तहमा कांग्रेसले माओवादीलाई हरायो। माओवादीका दुई उम्मेदवारले दुई गाउँपालिका जितेर माओवादी केन्द्रको शाख जोगाए। जिल्लाको शहीद लखन गाउँपालिका र सुलिकोट गाउँपालिकामा मात्र माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका हुन्। 

शहीद लखन गाउँपालिका

शहीद लखन गाउँपालिकाको प्रमुख पदमा विजयी हुने माओवादीका उम्मेदवार हुन्, रमेश थापा मगर। शहीद लखन गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका रमेश थापा तीन हजार ८०८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण आलेले तीन हजार ४०३ मत मात्र ल्याए।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत विजयी भइन्।। नेपाली कांग्रेसकी शर्मिला श्रेष्ठले तीन हजार ५७५ मत ल्याए पनि माओवादीकी उम्मेदवारलाई हराउन मत पर्याप्त भएन। शहीद लखन गाउँपालिकामा १८ हजार ५०७ मतदाता थिए।

२०४७ सालमा नेकपा माओवादीको सदस्यता लिएका रमेश थापाले माओवादी केन्द्रका विभिन्न संगठन निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेले। २०५० सालमा गोरखाको गोरखा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिमा निर्वाचित भएपछि उनको राजनीतिले खास बाटो लिएको उनी बताउँछन्। 

विद्यार्थी राजनीति गर्दागर्दै २०५४ सम्म तनहुँको आँबुखैरेनीमा रहेको नवज्योति बोर्डिङ स्कुलमा पढाएका पनि थिए। पढाउने क्रममा विद्यालय आउँदा जाँदा नेपाली सेना, प्रहरी तथा अन्य विभिन्न क्षेत्रबाट दमन हुनथालेपछि २०५४ सालमा पूर्ण भूमिगत भए। भूमिगतकालमा पार्टीको वैचारिक र संगठनात्मक क्षेत्र कसरी बलियो बनाउने भन्नेमा उनको महत्त्वपूर्ण भूमिका रह्यो। 

२०५५ साल पुस ५ गते थापाकी बहिनी गीतालाई नेपाली सेनाले बेपत्ता पारेपछि उनी पीडासँगै पार्टीमा झन् सशक्त ढंगबाट लागेको बताउँछन्। मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय संस्थापक सदस्यसमेत रहेका थापा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। थापा शिक्षण पेशा छोडेर अहिलेको स्थानीय तहको निर्वाचनमा शहीद लखन गाउँपालिकाको प्रमुख पदको उम्मेदवार भएका हुन्। 

बुंकोटको शहीद स्मृति माध्यमिक विद्यालयबाट राजिनामा दिएर चुनाव लडेका हुन् उनी। गोरखामा जताततै माओवादीले हारिरहँदा यहाँ कसरी जित्नुभयो? भन्ने प्रश्नमा थापा भन्छन्, ‘मैले गाउँठाउँमा कसैको केही बिगारिनँ। म स्वभावले पनि नरम छु। विशेषतः मास्टर छोडेर चुनाव लड्न आएको पढेलेखेको छ भनेर मतदाताले विश्वास गरे भन्ने लाग्छ।’ पार्टीको आन्तरिक द्वन्द्व, पार्टी फुटका कारण नै जिल्लामा कांग्रेसले माओवादीलाई हराएको उनको तर्क छ। 

सुलिकोट गाउँपालिका

सुलिकोट गाउँपालिका तत्कालीन माओवादीले आफ्नो आधार इलाका मानेको क्षेत्रसमेत हो। त्यही क्षेत्रमा अहिलेको निर्वाचनमार्फत पनि माओवादीले पुनः कब्जा जमायो। सुलिकोट गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रकुमार गुरुङले तीन हजार २२ मत मात्र प्राप्त गरे। 

उपप्रमुखमा पनि माओवादी केन्द्रकी सनमाया गुरुङ चार हजार ५०१ मतका साथ विजयी भएकी छन्। उनले नेपाली कांग्रेसकी जनककुमारी कोइरालालाई हराएकी हुन्। कोइरालाले तीन हजार ४२ मत ल्याएकी थिइन्। सुलिकोटमा १५ हजार ९५६ मतदाता छन्।

२०४४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका भट्ट लमजुङको कृषि क्याम्पसमा पढ्दा अखिल क्रान्तिकारीको जिल्ला सचिवसमेत भएर काम गरे। माओवादी जनयुद्धका बेला कम्पनी कमिसार भएर युद्ध लडेका भट्ट अहिले सुलिकोट गाउँपालिकाको प्रमुख बनेका हुन्। जनयुद्ध सुरु हुनुभन्दा पाँच महिनाअघिदेखि भूमिगत राजनीतिक जीवन सुरु गरेका भट्टले २०५२ माघदेखि नै छापामार लडाकु र पछि जनमुक्ति सेनामा रहेर काम गरे। पछि उनी वासु स्मृति ब्रिगेडको १० नम्बर बटालियनको ए कम्पनी कमिसार भएर युद्ध लडे। 

शान्ति प्रक्रियामा आएपछि उनले समायोजन छाडेर भूगोलको राजनीति रोजेका थिए। त्यसयता क्षेत्र नं. ३ को इन्चार्ज भएर निरन्तर काम गरे। अहिले भट्ट नेकपा माओवादी केन्द्रको जिल्ला उपाध्यक्षसमेत हुन्।

जनयुद्धको क्रममा उनले एक दिदी र एक बहिनी गुमाए। २०५७ सालमा बागलुङ जिल्लाको सदरमुकाम क्षेत्रको इन्चार्ज हुँदा पक्राउ परेका उनले तीन वर्ष छ महिना जेल जीवन बिताए। 

अहिले गाउँपालिका जितेपछि उनीसँग विकास निर्माणको चुनौती छ। पुरानो अभ्यास नभए पनि भूगोल, समाज र राजनीतिको राम्रो दख्खल भएकाले काम गर्न सक्ने खुबी भएको दाबी गर्छन् उनी। 

‘युद्धका बेला पनि हामी ग्रामीण भेगमा थियौँ। दुखी, विपन्न, निमुखा जनताकै माझमा थिएँ। माओवादीले सुलिकोट क्षेत्रलाई आधारइलाका नै बनाएको थियो’, उनी भन्छन्, ‘त्यसैले यस क्षेत्रको भूगोल घुमेको चिनेको छु। यहाँको विकासमा म सधैँ लाग्नेछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.