|
तस्विर सौजन्य : नरेश रोकाया

पोखरा : पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणना भइरहदा शनिबार दुईखालका स्वस्तिक चिह्न प्रयोग भएको विषयमा विवाद भएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। २४ घण्टा भन्दा बढी मतगणना रोकिएपछि नेकपा एमालेका कार्यकर्ताहरुले विरोधमा नाराबाजी गरेका छन्। 

पोखरा महानगरपालिकाको मतगणना भइरहेको ठाउँ नगर विकास प्रशिक्षण केन्द्रबाहिर एमाले कार्यकर्ताहरुले टायर बालेका छन्। 

२०७० सालको संविधानसभाको निर्वाचनमा प्रयोग भएर बाँकी रहेका स्वस्तिक चिन्ह र अहिलेको स्थानीय तहको निर्वाचनका लागि खरिद गरिएको स्वस्तिक चिन्ह प्रयोग गरिएको भनेर निर्वाचन आयोगले जवाफ दिइसक्दा समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतगणना अगाडि बढाउन अवरोध गरेको भन्दै एमाले कार्यकर्ताले तत्काल मतगणना सुरु गर्न माग गर्दै आन्दोलन गरेका हुन्।  

सर्वदलीय बैठकले निर्वाचन आयोगको जवाफपछि मतगणना शुरु गर्ने सहमति गरे पनि कांग्रेस-माओवादीले अवरोध गरेकाले मतगणना सुरु गर्न माग गर्दै प्रदर्शन गरेको अनेरास्ववियुका सचिवालय सदस्य नरेश रोकायाले जानकारी दिए। 'मतगणनाको क्रममा मतपत्रमा दुईखाले स्वस्तिक चिन्ह मतपत्र फेला पर्दा काँग्रेस माओवादीले फर्जी भनेपछि मतगणना रोकियो हो। विवाद उत्पन्न भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन आयोगको निर्णय अन्तिम मान्ने सहमति भएको थियो' उनले भने 'तर निर्वाचन आयोगले जवाफ दिइसक्दा समेत मतगणना सुरु हुन सकेको छैन। लामो समयसम्म रिजल्ट नआउदा मतदाताहरुले मतगणना सुरु गर्न माग गर्दै टायर बालेका हुन्।'

यसवर्षको स्वस्तिक चिह्न र २०७० सालको निर्वाचनका बेला प्रयोग भएका स्वस्तिक चिह्नको आकार सानो ठूलो छ। निर्वाचन आयोगले २०७० सालको निर्वाचनमा प्रयोग नभएर बाँकी रहेका स्वस्तिक छापहरु समेत यसपालीको निर्वाचनमा प्रयोग गरेका कारण फरकफरक देखिएको जवाफ दिइसकेको छ।  

अहिले पनि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको र मतगणना गर्न दबाब दिनका लागि ठुलो संख्यामा मतदाताहरु मतगणनास्थल बाहिर उपस्थित भएर आन्दोलन गरिरहेको रोकायाले बताए। 'आयोगले दुईखाले स्वस्तिक चिन्ह यो पटक प्रयोग भएको जानकारी दिएको छ। तर त्यति हुँदा पनि माओवादी-कांग्रेसले मतगणना हुन दिएका छैनन्' उनले भने, 'अहिले पनि सर्वदलीय बैठकको तयारी भइरहेको छ। १००० बढी एमाले कार्यकर्ताहरु नगर विकास बाहिर छन्। हिजोदेखि सहज ढंगले गन्नुपर्छ भन्दा पनि अहिलेसम्म नगन्दा जनताले आफुले दिएको अभिमतको रिजल्ट नआएका कारण छिटो गर्नुपर्छ भनेर मतदाताले टायर बालेका हुन्। एमालेले बालेको होइन।'  

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.