|

काठमाडौं : तीन वटा प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले चार नम्बर प्रदेश र एमालेले तीन नम्बर प्रदेशमा करिव ५० प्रतिशत बढी स्थानमा विजय हासिल गरेको छ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसले चार नम्बर प्रदेशका ११ जिल्लाका ४४ स्थानीय तहका गाउँपालिका र नगरपालिकामा विजय हासिल गरेर बहुमत ल्याएको हो। यो प्रदेशको एक ८६ वटा स्थानीय तहको मत परिणामलाई हेर्दा कांग्रेसले बहुमत ल्याएको हो। यो प्रदेशको पोखरा लेखनाथ महानगरपालिकाको मत परिणाम भने आउन बाँकी छ।

तीन नम्बर प्रदेशमा एमाले एक्लैले ५५ गाउँपालिका र नगरपालिकामा विजय हासिल गरेको छ। यो प्रदेशको १३ वटा स्थानीय तहको परिणाम भने आउन बाँकी छ। एक सय ५ स्थानमध्ये नेपाली कांग्रेसले ३२ र माओवादी केन्द्रले १६ स्थानमा मात्र बिजय हासिल गरेको छ। यो प्रदेशबाट नेमकिपा, नयाँशक्ति र राप्रपाले एक/एक स्थानमा विजय हासिल गरेका छन्।

छ नम्बर प्रदेशका १० जिल्लाको मत परिणामलाई हेर्दा तीन पार्टीको कडा प्रतिस्पर्धा देखिन्छ। यो प्रदेशको कालिकोटस्थित नरहरिनाथ गाउँपालिकाको मत परिणाम आउन बाँकी छ। ६८ गाउँ र नगरपालिकाको मत परिणाम अनुसार एमालेले २६, कांग्रेस र माओवादीले २५/२५ र दुई जना स्वतन्त्रले प्रमुख र उपप्रमुखसहित बहुमत स्थानमा विजय हासिल गरेका छन्। 

कुन दलको कुन प्रदेशमा कस्तो स्थिति ?
नेपाली कांग्रेस :

स्थानीय तहको पहिलो चरणअन्तरगत तीन वटा प्रदेशमा भएको मतलाई हेर्दा कांग्रेसले दुई वटा जिल्लामा एक सिट पनि ल्याएन सकेन। कांग्रेसले डोल्पा र रुकुममा एक सीट पनि ल्याउन सकेन। कांग्रेसले सबैभन्दा बढी गोरखामा नौं वटा गाउँ र नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत स्थानमा कांग्रेसले जितेको छ। कांग्रेसले नुवाकोट, तनहुँ र नवलपरासीबाट ६/६ वटा स्थानीय तहमा विजय हासिल गरेको छ। 

नेकपा एमाले :

यो दलले रुकुम र गोरखाबाट एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। एमालेले सबैभन्दा बढी धादिङ जिल्लाबाट आठ स्थानीय तहमा कब्जा जमाएको छ। उसले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र स्याङजाबाट ७÷७ वटा स्थानीय तहमा किल्ला जमाएको छ। एमालेले दोलखामा ६ र लमजुङ तथा मकवानपुरमा ५÷५ वटा स्थानीय तहमा जित हासिल गरेको छl

माओवादी केन्द्र:

छ नम्बर प्रदेशको रुकुमको ६ वटा स्थानीय तहमध्ये सबैमा जीत हासिल गरेको माओवादी केन्द्रले १४ जिल्लामा निल भएको छ। माओवादी केन्द्रले तीन नम्बर प्रदेश चार जिल्ला काठमाडौं, भक्तपुर, रसुवा र दोलखाबाट एउटा पनि स्थानीय तहमा बिजय हासिल गर्न सकेन। 

माओवादीले चार नम्बर प्रदेशका ७ वटा जिल्ला मनाङ, स्याङ्जा, काश्की, मुस्ताङ, म्याग्दी, पर्बत र नवलपरासीबाट एउटा पनि प्रमुख/उपप्रमुखमा बिजय हासिल गर्न सकेन। माओवादीले ६ नम्बर प्रदेशको दैलेख, सुर्खेत र मुगुबाट एउटा पनि सिट ल्याउन सकेन। 

अन्य दल :

संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको रुवी भ्यालीमा जित हासिल गरेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्तिले रसुवाको पार्वती कुण्डमा बिजय हासिल गरेको छ। त्यस्तै नेपाल मजदुर किसान पार्टीले भक्तपर नगरपालिका र राष्ट्रिय जनमोर्चाले बागलुङको वरेङमा मात्र विजय हासिल गरेको छ। 

डोल्पाका दुई गाउँपालिका र मुस्ताङको एक गाउँपालिकामा भने स्वतन्त्रले प्रमुख पदमा बिजय हासिल गरेका छन्। ती गाउँपालिकाको उपप्रमुखमा भने एमालेले जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.