|

चितवन : उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महत्तोलाई नौलो लाग्यो। पहिले उनी सचिवको कुर्सीमा थिइन् अहिले उपप्रमुखको कुर्सीमा पुगिन्।

सोमबार माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि वडाध्यक्षहरुसँग छलफल गरिन्। ‘परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु' खुसी हुँदै ताराकुमारीले भनिन्, 'अब बोझ बढेको छ।’

उनको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ। माडीमा जंगली जन्तुको आतंक छ। खहरे खोला नालाले माडीमा बर्षातका बेला आतंक नै मच्चाउँछ।

निकुञ्जले घेरिएको उपत्यका भएकाले श्रोतसाधन, उद्योग धन्दा छैन। त्यसैले पनि माडीको विकास गर्न चुनौती छ। ‘अब माडीको मुहार कसरी फेर्ने, मेरो चिन्ता नै त्यही हो,’ ताराकुमारी काजी महत्तो भन्छिन्।

गएको बैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिंदै गर्दा ताराकुमारी काजी महत्तोलाई खासै चिन्ता भएन। पार्टीबाटै तपाई आउनुपर्‍यो भनेपछि उनले राजीनामा दिएर उपप्रमुखको आकांक्षा राखिन्।

उपप्रमुख भएपनि र नभएपनि जागिर गुमेकोमा कुनै चिन्ता लागेर ताराकुमारीलाई ‘कति गर्नु एउटै काम, जे त होला भनेर त्यागें ’ ताराकुमारीले भनिन्। नेकपा एमालेले उपप्रमुखका लागि ताराकुमारीसागै नारायण पौडेल र चन्द्र बानियाँको नाम पनि सिफारिस गर्‍यो। अन्त्यमा उनी उम्मेदवार बनिन्।

प्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले जिते पनि उपप्रमुखमा एमालेबाट ताराले जितिन्। उनको मत ४ हजार ६९० आयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सरिता चौधरीको ३ हजार ८०४ मत आयो। सर्वाधिक मत ल्याउनेमा उनी परिन्। माडीलाई इको नगर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने, खोलानाला व्यवस्थापन, जंगली जनावर आक्रमणको न्यूनिकरण तथा कृषि उत्पादनको बृद्धिमा लाग्ने उनले अठोट गरेकी छिन्।

माडीका स्थानीय गोविन्द न्यौपाने उनले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उनको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको छवि नै भएको दावी गर्छन्।

दलित महिला सदस्यमा विजयी भएकी माडीकी इन्दिरा विक ताराकुमारीले अरु पार्टीको पनि मत तान्न सफल भएकी बताउँछिन्। भोट माग्न जाँदा पनि उनको नाम मतदाताबाट आउने गरेको विक अनुभव सुनाउँछिन्।

को हुन् ताराकुमारी काजी महत्तो? 

४३ वर्षीया ताराकुमारी काजी महत्तोको घर माडी वडा नम्बर ३ बसन्तपुर हो। प्लस टु पास गरेकी उनकी २ छोरी छन्। श्रीमान जयराम महत्तो शिक्षक छन्।

एसएलसी पछि २० बर्षमा विहे भएको थियो उनको। छोरी जन्मेपछि कष्टले प्लस टु गरेको ताराको अनुभव छ। २०६१ सालमा पहिलो पटक उनले जागिर शुरु गरिन्।

युनिसेफमा बालबालिका सम्बन्धी परियोजनामा जागिर पाइन्। त्यसपछि उनले २०६३ सालमा  साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पाइन्। त्यसपछि माडी नगरपालिका बन्यो।

उनी वडा नम्बर ३,४,५ को वडा सचिव बनिन्। त्यही वडा सचिव हुँदै गर्दा स्थानीय तहको निर्वाचन आएपछि वैशाख १६ मा राजीनामा दिएर राजनीतिमा होमिएकी उनी अब विकासमा लाग्ने अठोट गरेकी छिन्। भन्छिन्, ‘अब मैले गरेर देखाउने दिन आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.