|

बझाङ :  जिल्लाको उत्तरी भेगमा रहेका दुई दर्जन बढी निजी तथा सरकारी विद्यालयहरु एक महिनादेखि बन्द गरिएका छन्। अविभावकसंगै स्कुल पढ्ने केटाकेटीहरु यार्सा संकलन गर्न लेकतिर हिडेपछि ती विद्यालयहरु बन्द गरिएका हुन्। उत्तरी भेगका काँडा गाउँपालिकामा रहेका धुली निमावि, काँडा मावि, धलौन मावि, लगायतका विद्यालयहरु बैशाख पहिलो साता देखि बन्द गरिएका छन्।

अधिकांश विद्यार्थीहरु यार्सा संकलन गर्न लेकतिर हिडेपछि विद्यालय बन्द गर्नुपरेको काँडा माविका शिक्षक गोरख बोहराले बताए। उनले भने 'विद्यार्थीहरु कोही आउदैनन सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् त्यसकारण शिक्षकहरु पनि घरमै बस्न बाध्य छन्।'

बन्द गरिएका विद्यालयहरु विद्यार्थी बेसी झरेपछि असार अन्तिम तिर मात्र खुल्ने जानकारी प्राप्त भएको छ। उत्तरी भेगमा पर्ने काँडा गाउँपालिका लगायत सुर्मा गाउँपालिका, छविस पाथीभेरा गाउँपालिका, तल्कोट गाउँपालिका र दुर्गाथली गाउँपालिका अन्तर्गत पर्ने अधिकांश विद्यालयहरु यतिखेर बन्द गरिएका छन्

उत्तरी भेगमा अवस्थित दुरदराजका ती विद्यालयहरु वर्षेनी ३ महिना बन्द हुने गर्दछन्। वैशाख पहिलो साता विद्यालय भर्ना भई यार्सा तिर हिडेका उनीहरु असारमा मात्र फर्कने गर्दछन्। आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिकाहरु यार्सा संकलन गरी आर्थिक जोहो गर्ने गर्दछन्। विद्यार्थीहरु ३ महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाई अधुरो रहने भएकाले परीक्षामा कम अंक ल्याउने गरेको शिक्षकहरु बताँउछन्। यस भेगका १० वर्ष देखि ६० वर्ष उमेर समुहका वृद्ध समेत यार्सा संकलन गर्न जाने गर्दछन्।

वृद्धहरु भन्दा केटाकेटीले नै यार्सागुम्बा बढी टिप्ने भएकाले यर्सा सिजनमा अविभावकले आफना साना नानीलाई समेत लेकतिर लग्ने गर्दछन्। संकलन गरेको यार्साबाट आम्दानी हुने भएकाले उनीहरुको पढाई प्रभावित भएको अविभावकलाई कुनै पछुतो लाग्दैन। मतदाता नामावलीमा नाम नभएका विद्यार्थीहरु स्थानीय तह निर्वाचनको समयमा समेत घर नफर्कने बताँउछन्। उत्तरी भेगका विद्यार्थीहरु यार्सा बेचेको पैसाले आवश्यक सामग्री खरिद गरी बाकी रहेका ५ महिना मात्र विद्यालय जाने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.