|

काठमाडौं : नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ।  सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सम्पन्न बैठकले पहिलो चरणको चुनावी नतिजाको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो। 

बैठकले विगतको तुलनामा पार्टी माथि उठेको निष्कर्ष पनि निकालेको छ। ०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा १२.८ प्रतिशत नतिजा माओवादीको पक्षमा थियो भने बैशाख ३१ को स्थानीय तह चुनावमा १८ प्रतिशत बढी मत आएको माओवादी बैठकको निष्कर्ष छ। पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताबीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकको निष्कर्षमा  भनिएको छ।

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २ सय ८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५ सयभन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष पनि बैठकले निकालेको छ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घर-आँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताए।

पहिलो चरणको निर्वाचनमा ७५ स्थानसम्म जित्न सकिने अनुमान गरिएको भए पनि ४६ स्थानमा खुम्चिनुपरेकोबारे समीक्षा गरिएको थियो। आर्थिक व्यवस्थापनको कमी, सांगठनिक क्रियाशीलताको अभाव र लोकप्रिय उम्मेदवार छनोटमा ध्यान दिन नसक्दा चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको तर्क नेताहरुले गरेका थिए।

दोस्रो चरणको चुनावसम्म जाँदा यी गल्तीहरु सच्याउनेबारे पनि बैठकमा छलफल चलेको थियो। बैठकले दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.