|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणामबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेको छ। सोमबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दोस्रो चरणको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट कमी कमजोरी भएको स्वीकार गर्दै बैठकले दोस्रो चरणको निर्वाचनमा ती कमी कमजोरी हुन नदिन सक्रियतापूर्वक सम्बन्धित निर्वाचन क्षेत्रमा परिचालित हुन पार्टीका केन्द्रीय सदस्यहरुलाई पनि निर्देशन दिएको छ। दोस्रो चरणको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीति तय गर्न जेठ २१ गते पार्टीको अगुवा कार्यकर्ता भेला पनि बोलाएको छ। कार्यसम्पादन समितिको बैठकले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टी पराजित हुनुको कारणबारे छानबिन गर्न अर्का महामन्त्री ध्रुवबहादुर प्रधान नेतृत्वको समितिसमेत बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा झडपमा परी निधन भएका कालिकोटका आफ्ना कार्यकर्ता धनरुप बटालालाई सहिद घोषणा गर्न पनि सरकारसँग माग गरेको छ। सरकारले निर्वाचन आचारसंहिताविपरीत हुने गरी जेठ १५ गते आंशिक बजेट ल्याउन लागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि पनि व्यक्त गरेको छ।

सरकारले निर्वाचन आचारसंहिताविपरीत हुने गरी बजेट ल्याउनु अनुपयुक्त हुने निष्कर्ष निकालिएको महामन्त्री पाठकले बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने पार्टीले अपेक्षा गरेअनुसार नै परिणाम आउने विश्वाससमेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.