|

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नेता तथा पूर्वसभासद् लालमणि चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र चौधरीलाई ९ सय ८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन्। लालमणिले १० हजार ७ सय १७ मत ल्याए भने राजेन्द्र चौधरीले ९ हजार ७ सय ३३ मत प्राप्त गरे।

यस्तै, उपमेयरमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भइन्। थपलियाले १० हजार ४ सय ५१ मत प्राप्त गरिन्।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले ९ हजार ८ सय ८८  मत प्राप्त गरिन्। नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले ३ हजार १ सय ४७ मत ल्याए भने उपप्रमुखमा रेवती सेढार्इँको २ हजार ९ सय २० मत आयो।

खैरहनीको १३ वडामध्ये नेकपा एमालेले ७ वटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले ६ वटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवं सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए।

उनका अनुसार वडा नम्बर १,६,७,८,९,१०,११ वडामा एमालेका उम्मेदवार  विजयी भएका छन्। वडा नम्बर २, ३,४,१२ र १३ वडामा नेपाली कांग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आगामी बुधबार शपथग्रहणको कार्यक्रम राखिएको जनाइएको छ। पूर्वी चितवनको कालिका, रत्ननगर, राप्ती र खैरहनी ४ वटा नगरपालिका रहेकोमा चारवटै नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको छ।

यसअघि, चितवनको इच्छाकामना गाउँपालिकामा प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितिसकेको छ भने दक्षिण माडी नगरपालिकामा प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भइसकेका छन्। अहिले भरतपुर महानगरपालिकाको मतगणना जारी छ। भरतपुरमा अहिलेसम्म झन्डै ५० प्रतिशत मतगणना भएकोमा प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.