माओवादीले अधिकांश उम्मेदवार टुंग्यायो, कांग्रेस अलमलमै, एमाले र समाजवादी फोरम छलफलमै

|

विराटनगर : दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै मोरङका राजनीतिक पार्टीका नेताहरु उम्मेदवार छनोटमा पुनः जुटेका छन्।  यसअघि वैशाख ३१ गते नै चुनाव हुने भन्दै उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेका दलहरु निर्वाचन एक महिना सरेपछि सुस्त देखिएका थिए।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएर दोस्रो चरणको तयारी सुरु भएपछि दलहरु उम्मेदवार छनोट गर्ने तयारीमा जुटेका हुन्। मोरङमा अबको एकदुई दिनमै सबै तहको उम्मेदवारको टुंगो लगाउने प्रमुख दलहरुले बताएका छन्।

माओवादीको प्रायः टुंगियो

माओवादी केन्द्रले भने सबैजसो तहको उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले अधिकांश स्थानीय तहका उम्मेदवार एक महिनाअगाडि नै टुंगो लगाएको थियो। अहिले बाँकी तहमा पनि करिब टुंगो लगाएको माओवादीले जनाएको छ।

माओवादीले विराटनगर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा भोगेन्द्र यादव र नमिता न्यौपाने चयन भई अहिले चुनावी अभियानमा छन्। माओवादीले पूर्वी मोरङको उर्लाबारी नगरपालिका प्रमुखमा राजेन्द्र पौडेल र रतुवामाई प्रमुखमा प्रकाश पौडेललाई उम्मेदवार बनाएको छ।

यस्तै, बेलबारी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा तिलक राई र सुशीला भट्टराई, रंगेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया (अग्रवाल) र उपप्रमुखमा केशवकुमारी खराल, सुन्दरहरैंचा नगरपालिका प्रमुखमा लक्ष्मी न्यौपाने (लता) र उपप्रमुखमा नवराज चापागाईं निश्चित भएका छन्।

यस्तै, लेटाङ नगरपालिकामा प्रमुख गोपाल नेपाली र उपप्रमुख शान्ता राई, पथरी नगरपालिका प्रमुखमा जहरमान लिम्बू र उपप्रमुखमा राधिका गौतम उम्मेदवार बन्ने भएका छन्। यस्तै सुनवर्सी नगरपालिकाको प्रमुखमा श्याम राजवंशी उम्मेदवार भएका छन्। माओवादीले जिल्लका ८ नगरपालिकामध्ये उर्लाबारी, सुनवर्सी र रतुवामाईको उपप्रमुखमा उम्मेदवार भने टुंगो लगाएको छैन।

जिल्लाका ८ गाउँपालिकातर्फ माओवादीले मिक्लाजुङ गाउँपालिका प्रमुखमा प्रेम मिभक (लिम्बू), जहदा गाउँपालिका प्रमुखमा राजकुमार यादव (आनन्द) र उपप्रमुखमा जयकला विश्वास, ग्रामथान गाउँपालिका प्रमुखमा रमेश भगत र उपप्रमुखमा राधिका चौधरी र कानेपोखरी गाउँपालिका प्रमुखमा सूर्य धिमाललाई उम्मेदवार बनाएको छ।

अन्य केही तहको भने टुंगो लाग्न बाँकी रहेको माओवादी मोरङका संयोजक गोपी अछामीले जानकारी दिए। उनका अनुसार अन्य उम्मेदवारको टुंगो १/२ दिनभित्रै लाग्नेछ।

कांग्रेस छलफलमै उर्लाबारीको टुंगो लगायो

नेपाली कांग्रेस मोरङले पनि उम्मेदवारी टुंगो लगाउन रातदिन छलफलमा रहेको जनाएको छ। कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले दिएको जानकारी अनुसार अहिलेसम्ममा उर्लाबारीको प्रमुखमा खड्ग फागो र उपप्रमुखमा सीता कार्कीको टुंगो लागेको छ। यस्तै केराबारी गाउँपालिकामा रोहित कार्की प्रमुखको उम्मेदवार बन्ने यसअघि नै टुंगो लागेको थियो।

जिल्लाका अन्य तहका उम्मेदवार मंगलबार दिनभरीमा टुंगो लगाउने कांग्रेसले जनाएको छ। कांग्रेसमा जिल्लाले सिफारिस गरेको नामको आधारमा केन्द्रीय प्रतिनिधिले अन्तिम निर्णय गर्ने कार्यविधि रहेको छ।

एमालेको छलफल तीव्र

यता नेकपा एमाले पनि उम्मेदवारी टुंगो लगाएर प्रदेशमा सिफारिस गर्नका लागि छलफलमा जुटेको छ। आइतबार दिनभर पार्टी कार्यालय विराटनगरमा छलफल भएको एमाले नेता वसिम आलमले बताए। ‘हामी दिनभर छलफलमा छौं’ आलमले भने, ‘दुई दिनभित्रमा एमालेले सबै तहको उम्मेदवारी टुंगो लगाउँछ।’

चुनावको तयारीमा फोरम

यता, मोरङको महत्वपूर्ण राजनीतिक दलको रुपमा स्थापित संघीय समाजवादी फोरम नेपालले पनि निर्वाचनको तयारीलाई तीव्र बनाएको जनाएको छ। फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले निर्वाचनमा जाने सुनिश्चित भइसकेको कारण चुनावमा जुटेको बताए।

‘नयाँशक्ति र राजपासँग कहा–कहाँ मोर्चाबन्दी गरेर जाने भन्ने विषयमा पनि छलफल चलिरहेको छ,’ यादवले भने, ‘निर्वाचनमा जाने अब निश्चित भइसक्यो।’ उम्मेदवारीको टुंगो भने अहिलेसम्म कुनै पनि तहको गरिनसकेको यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.