|

लहान : पैंचो माग्दा पनि पानी बाहेक अन्य बस्तु दिन तयार हुने गाउँमा चौबीस घण्टा पानीको सुविधा भएपछि कसको मन फुरङ्ग नहोला र? हिउँद नलाग्दै गाउँको पानीको स्रोतको रुपमा रहेका प्रायः इनार सुक्न थालेपछि पानीको अभाव झेल्दै आएका सिरहाको धनगढीमाई नगरपालिका १३ विष्णपुरकट्टी डावरका बासिन्दाहरु गाउँमा पानीको सुविधा भएपछि खुसी भएका छन्।

सिरहाको धनगढीमाई नगरपालिकामार्फत तत्कालीन जिल्ला विकास समितिको तीन लाख रुपैयाँ अनुदान र स्थानीय गाउँलेहरुको श्रमदानबाट ५ लाख ४७ हजार रुपैयाँ खर्चिएर बोरिङ गरिएपछि पानीको सुविधा भएको स्थानीय सान्त्वना ठकुरीले बताइन्। ‘एक गाग्रो पानीका लागि एक घण्टाभन्दा बढी हिँड्नु पथ्र्यो’ ठकुरीले भनिन् ‘गाउँमै बोरिङ्बाट पानी आउन थालेपछि ठूलो राहत भएको छ।’

बोरिङ् गरेर वैशाख २० गतेदेखि डेढ इञ्चको मोटर जडान गरी छ इञ्चको पाइपमार्फत पानी आउन थालेपछि सिङ्गो गाउँलेहरुलाई राहत भएको स्थानीय रुद्र बहादुर ठकुरी बताउँछन्। स्थानीय गाउँलेहरुको प्रयासमा गठन गरिएको डिप बोरिङ् निर्माण उपभोक्ता समितिले तत्कालीन जिविसको अनुदानमा थप गरेको १ लाख ४७ हजार रुपैयाँ नगरपालिकाले सोधभर्ना गरिदिने आश्वासन पाएको अध्यक्ष निर्मल ठकुरीले जानकारी दिए।

चुरे जङ्गलको नजिकै पर्ने डावरसहित छिमेकी गाउँहरुलेहरुले वर्षौंदेखि झेल्दै आएको खानेपानीको संकट अन्त्य भएको बोरिङका लागि जग्गा उपलब्ध गराएका स्थानीय महेश्वर श्रेष्ठले बताए।

स्थानीय विष्णुपुर भुल्के खानेपानी आयोजनाका सचिवसमेत रहेका श्रेष्ठले भने ‘धनगढीमाई नगरपालिकाको १३ नं. वार्ड (साविक विष्णुपुरकट्टी १, २ र ४) लाई आयोजना अन्तर्गत जडान गरिएका धाराबाट पनि आंशिक रुपमा भरथेग भइरहेका बेला बोरिङको पानीले थप सुविधा भएको छ।’

श्रेष्ठका अनुसार १ सय ८० फिट गहिराइबाट डेढ इञ्चको मोटरमार्फत तानिएको पानीले स्थानीय १ सय ३७ घरपरिवार लाभान्वित भएका छन्। ‘बिहान झिसमिसेमै भाँडा, गाग्रो बजाउँदै छिमेकी गाउँको इनारमा पानी भर्न जानै पर्ने बाध्यता हटेको छ’ उनले सुनाए।

सिरहाको उत्तरी क्षेत्रमा पर्ने बस्तीपुर, विष्णुपुरकट्टी, धनगढी, मुक्सार, जमदह, चोहर्वा, घुर्मी फुलबरिया, धरमपुर लगायतका दर्जन भन्दा बढी गाउँहरुमा हिउँद लागेसँगै इनार कल सुक्न थालेपछि स्थानीय बासिन्दाहरुले पानीको संकट व्यहोर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.