|

राजेन्द्र बहादुर सिंह-

    बझाङ : प्रदेश न. ७ अन्तरगत पर्ने बझाङका मतदाताहरु स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान गर्न निकै आतुर देखिएका छन्। पहिलो चरणको निर्वाचन सम्पन्न भएका ठाउँमा सञ्चार माध्यमबाट देखिएको उत्साहलाई नियाल्दै बसेका उनीहरु दोस्रो चरणको निर्वाचनमा मतदान गर्न निकै आतुर भएका हुन्।

    बझाङलगायत ७ न. प्रदेशमा रहेका बैतडी, दार्चुला डडेल्धुरा, बाजुरा, अछाम, डोटी, कैलाली,र कञ्चनपुर जिल्लाका मतदाताहरु मतदान गर्न दोस्रो चरण निर्वाचनको पर्खाइमा रहेका छन्।  

    स्थानीय तह निर्वाचनमा सक्षम उम्मेद्वारलाई मतदान गरी विजय गराउन आपूmहरु आतुर रहेको बझाङका मतदाताहरु बताँउछन्। जेठ ३१ आउने दिन गन्दै बसेका बझाङका मतदाताहरु यतिखेर होटल पसल तथा सार्वजनिक स्थलमा समेत स्थानीय तह निर्वाचनबारे चर्चा परिचर्चा गर्दै आएका छन्।

    स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान गर्न स्वदेश तथा विदेशबाट फर्केका मतदाताहरु पनि जेठ ३१ को दिन गन्दै बसेका छन्। विशेष गरी भारतमा रोजगारी गर्ने कतिपय मतदाताहरु छट्टी मिलाउँदै मतदान गर्न घर फर्किन थालेका छन्। स्थानीय तह निर्वाचनमा आफ्नो नजिकैको मतदान स्थलमा सक्षम उम्मेदवारलाई भोट हालेर फेरि कार्यक्षेत्रतिर फर्केने उनीहरु बताँउछन्।

    दुई दशक पछि हुन थालेको स्थानीय तह निर्वाचनमा मतदान गर्न आफूलगायत घरपरिवार आतुर भएको जयपृथ्वी नगरपालिका ६ का पदमबहादुर सिंहले बताए। उनले भने, ‘मतदान गर्न जेठ ३१ को दिन गन्दै बसेको छु यसपटक जनप्रतिनिधि पाउने हुँदा म निकै खुसी छु।’

    चुनावी प्रचारका लागि गाउँबस्तीमा हिँडेका विभिन्न पार्टीका कार्यकर्ताहरु समेत निर्वाचन हुने दिन गन्दै आएका छन्। बझाङ जिल्लामा स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ९७ हजार ६ सय १० मतदाताहरुले मतदान गर्ने भएका छन्। जसमध्ये ४७ हजार ८ सय ८८ पुरुष र ४९ हजार ७ सय २२ महिला मतदाताहरु रहेका छन्।

    २ नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा ९४ वटा वडाहरु रहेका छन् भने स्थानीय तहको संख्या १२ रहेको छ। स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बझाङमा १ सय २५ वटा मतदानस्थल र १ सय ५८ वटा मतदान केन्द्रहरु निर्धारण गरिएका छन्। स्थानीय तह दोस्रो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयल बझाङले जनाएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.