|

बीबीसी : भारतकी ३७ वर्षीया महिला अन्सु जाम्सेन्पाले १ हप्ताभित्रै २ पटक सगरमाथा आरोहण गरेकी छिन्। २ छोरीकी आमा जाम्सेन्पाले पहिलोपटक मेइ १६ मा सगरमाथाको चुचुरोमा पुगिन्। लगत्तै उनले २१ मेइमा दोस्रो आरोहण गरिन्।

कम्तिमा ३ आरोहीहरुको सगरमाथामा निधन भएको साता जाम्सेन्पाले यस्तो उपलब्धि बनाएकी हुन्। यसै साता तिब्बती क्षेत्रबाट आरोहण गर्दै गर्दा एक अस्ट्रेलिनको मृत्यु भएको थियो।

नेपाली भूभागबाटै आरोहण गर्दा एक स्लोभाक र अमेरिकी नागरिकको मृत्यु भयो। उद्धारकर्मीहरुले अहिले एक भारतीय नागरिकको खोजी गरिरहेका छन्। उनी सगरमाथाको चुचुरोमा पुगेको छोटो समयपछि गायब भएका थिए।

सयौं पर्वतरोहीहरु आगामी महिना मनसुन सुरु हुन अगावै सगरमाथाको चुचुरोमा पाइला राख्ने आशामा छन्।

को हुन्  अन्सु जाम्सेन्पा?

भारतको अरुणाञ्चल प्रदेशकी अन्सु जाम्सेन्पाले सगरमाथाको चुचुरोमा लगातार २ पटक पाइला राखेको यो दोस्रो अवसर हो। सन् २०११ मा पनि उनी लगातार २ पटक सगरमाथाको चुचुरोमा पुगेकी थिइन्। तर त्यतिबेला पहिलो आरोहण सकेको १० दिनपछि मात्रै उनी चुचुरोमा पुगिन्।

यसबाहेक सन् २०१३ मा पनि जाम्सेन्पाले सगरमाथा आरोहण गरेकी थिइन्।

उनले अब नेपालको पर्यटन मन्त्रालयबाट आरोहणको प्रमाणपत्र लिएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन पहल थाल्नेछिन्। जाम्सेन्पाका श्रीमान् छिरिङ वाङ्गेले बीबीसीसँगको कुराकानीमा भनेका छन्,'उनले सधैं दोहोरो आरोहण २ पटक गर्ने लक्ष्य राखिन्। तर सन् २०१४ मा हिमपहिरो तथा सन् २०१५ मा भूकम्पका कारण त्यो संभव भएन।'

सन् २०१२ मा नेपालकी छुरिम शेर्पाले ७ दिनको अवधिमा २ पटक सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान सबैभन्दा छिटो डबल आरोहण गर्ने महिलाको कीर्तिमान लेखाएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.