|

रुपन्देही : निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १५ कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरुलाई विभिन्न समयमा नियन्त्रणमा लिइएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

रुपन्देहीबाट ६ जना, कपिलवस्तुबाट ५ जना र नवलपरासीबाट नियन्त्रणमा लिइएका ४ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको थापाले बताए।

पहिलो चरणको निर्वाचन र दोश्रो चरणको निर्वाचन बिथोल्ने योजनाअनुरुप रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विभिन्न गतिविधि सञ्चालन गरेको प्रमाणका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको थापाले बताए।

पहाडी जिल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन नगरेपनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानी बढाएको उनले बताए। प्रहरीका अनुसार सो पार्टीले पहिलो चरणको निर्वाचन ताका नवलपरासीमा पटक-पटक बम विस्फोट गराएको थियो भने अन्य जिल्लामा चुनाव विरोधी गतिविधि सञ्चालन गरेको थियो।

पछिल्लो समयमा स्थानीय तहका कार्यालयहरुमा राखिएका बोर्डहरु फाल्ने र नाम मेटाउने गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्नलाई पक्राउ गरिने थापाले बताए।  उनले निर्वाचन विरोधी गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्ने बताए।

‘हामीले मतदातालाई भय र त्रास उत्पन्न गर्ने जो कोहीलाई पनि त्यस्ता गतिविधि सञ्चालन गर्न दिनेछैनौं,'उनले भने,‘निर्वाचनलाई भयरहित बनाउन र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने मतदाताको अधिकारलाई सुरक्षित गर्न पनि हामी कटिबद्ध छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.