|

काठमाडौँ: नेपाली औषधि उत्पादकहरूले ७२ प्रकारका औषधिमा नेपाल आत्म निर्भर हुनसक्ने बताएका छन्।

सोमबार नेपाल औषधि उत्पादक संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो दाबी गरेका हुन्। नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारले ३४ प्रकारका औषधि स्वदेशैमै उत्पादन गर्ने भन्दै आयातमा रोक लगाउने निर्णय गरेको बेलामा ७२ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सकिने बताए।

'भर्खरै सरकारले ३४ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णय गरेको बताइँदै आएको छ। यद्धपि, यसको आधिकारिक जानकारी हामीलाई दिइएको छैन', उनले भने, 'राष्ट्रलाई समृद्धिको बाटोमा डोहोर्‍याउन सरकारले चालेको यो कदम सही हो। नेपाली औषधि उद्योगले ३४ प्रकारका मात्र नभएर ७२ प्रकारका औषधिसम्म उत्पादन गर्नसक्ने अवस्थामा छन्।'

उपाध्यक्ष दाहालले हाल वर्सेनि आठ सय अर्बको औषधि विदेशबाट आयात हुने अवस्थामा आत्मनिर्भर हुने बाटोमा लम्किरहेको भन्दै त्यसलाई सरकारले साथ र सहयोग दिनुपर्ने बताए। उनले पछिल्लो पटक मन्त्रिपरिषदबाट भएको भनिएको निर्णय स्वदेशी औषधि उद्योगको लागि सकारात्मक रहेको पनि बताए।

उनले नेपाल औषधिमा आत्मनिर्भर हुने दिशामा अघि बढेको र यतिबेला सरकारले पूरा सहयोग गर्नुपर्ने बताए। उनले भारत र बंगलादेशको औषधि उत्पादनको उदाहरण दिँदै नेपालका निजी क्षेत्रले सरकारको सहयोगविना ४५ प्रतिशत बजार हिस्सा ओगटेको जानकारी दिए।

नेपाली औषधि उद्योगमा २६ अर्ब रूपैयाँको लगानी भइसके पनि वार्षिक १६ अर्ब रूपैयाँको मात्रै व्यापार हुने गरेको भन्दै उनले यतिबेला स्वदेशी उद्योगलाई राज्यको तर्फबाट विशेष सहुलियत र प्रोत्साहन गर्नुपर्ने समेत बताए।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले २०औँ वर्षदेखिको आफूहरुको माग यस पटक सरकारले पूरा गर्न खोजेको भन्दै औषधिमा आत्मनिर्भर हुनका लागि राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए। कतिपयले नेपाली औषधिको गुणस्तर र मूल्यको विषयमा भ्रम छर्ने खालका अभिव्यक्ति दिएको भन्दै उनले नेपाली औषधिहरू अन्तर्राष्ट्रिय गुणस्तरका हुने र मूल्य सहुलियत दरमै रहने दावी गरे।

यस्तै नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले औषधि उत्पादनका क्षेत्रमा नेपाल समक्ष भइसकेको दावी गरे। उनले नेपाली कम्पनीले गुणस्तरीय औषधि उपभोक्तालाई उपलब्ध गराउन सक्षम भएको अवस्थामा सरकारले हालै ३४ वटा औषधी आयातमा रोक लगाएर राम्रो काम गरेको बताए।

'हाल नेपालमा हाल ५६ प्रतिशत औषधि आयात हुने गरेको सरकारी तथ्यांक रहेको अवस्थामा नेपाली औषधि उद्योगको प्रवर्द्धन गर्ने नीति सरकारले लिएर वार्षिक २० अर्ब रूपैयाँको औषधि आयातलाई रोक्ने सराहनीय काम गरेको छ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.