|

सुर्खेत : प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा १४ वर्ष पछि निर्वाचित भएका जननिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्।

२० वर्षसम्म कर्मचारीहरुबाट सञ्चालन हुँदै आएको स्थानीय तहको कार्यभार सोमबार देखि जनप्रतिनिधिहरुले देश र जनताको नाममा सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमका बिचमा सपथ ग्रहण गरेका हुन्।

वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया भण्डारी ढकाल र १६ वटा वडाका वडा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कैलाशप्रसाद सुवेदीले सपथ ग्रहण गराए भने वडा सदस्यहरुलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सपथ ग्रहण गराए।

मुख्य निर्वाचन अधिकारी कैलाशप्रसाद सुवेदीले नवनिर्वाचित प्रमुख, उपप्रमुख र अन्य सबै पदाधिकारी सदस्यहरुलाई जनताको सेवक भएर काम गर्न सल्लाह दिए। उनले नवनिर्वाचित पदाधिकारीहरुलाई नयाँ कार्यकाल सफलताको शुभकामना दिए।

जनताको मतको उचित सम्मान गर्नेछु : प्रमुख सुवेदी

सपथ ग्रहण कार्यक्रममा वीरेन्द्रनगरका नवनिर्वाचित प्रमुख देवकुमार सुवेदीले जनताको मतको उचित सम्मान गर्ने बताए। उनले चुनावअघि भोट माग्दा जनता समक्ष राखेका एजेन्डाहरु पूरा गर्नका लागि तत्कालै काम सुरु गर्ने बताए। उनले वीरेन्द्रनगरलाई पर्यटकिय र शैक्षिक केन्द्र बनाउनका लागि आवश्यक कदम चाल्ने बताए।

नगर र नगरवासीको हितमा काम गर्नेछु : उपप्रमुख ढकाल

जिल्लाभर सबैभन्दा धेरै मत ल्याएर वीरेन्द्रनगरको उपप्रमुखमा विजयी भएकी मोहनमाया ढकालले नगरवासीको हितमा काम गर्ने बताइन्। उनले मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। यसअघि वीरेन्द्रनगर नगरपालिकाका कर्मचारीहरुले प्रमुख र उपप्रमुखलाई कार्यकक्षमा स्वागत गरेका थिए।

गुर्भाकोटका नवनिर्वाचित पदाधिकारीले पनि लिए सपथ

सुर्खेतको गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले पनि सपथ लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा आयोजित विशेष समारोहमा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले पद तथा गोपनियताको सपथ ग्रहण गराए।

सोही समारोहमा वडा अध्यक्ष तथा वडा सदस्यहरुले पनि सपथ लिए। कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख हस्त पुनले चुनावमा जनतासामू गरेका वाचा पूरा गर्ने बताए। उनले अबको ५ वर्षमा गुर्भाकोट नगरपालिकालाई स्वच्छ, सुन्दर र हराभरा बनाउने, विकास निर्माणका काम, शिक्षा, कृषि, प्राविधिक क्याम्पस निर्माण गर्न पहल गर्ने, खानेपनि बिजुलीजस्ता अत्यावश्यक सेवाहरु जनताका घर दैलोमै पुर्‍याउने प्रतिवद्धता दोहोर्‍याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.