|
File Photo

लहान : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले सडक, सदन र चुनावी आन्दोलन एकसाथ गरिरहेको बताएका छन्। 'चुनाव पनि आन्दोलनकै मोर्चा हो। त्यसलाई उपयोग गरी पार्टीको पकडलाई तल्लो तहसम्म पुर्‍याउन पार्टी एकता र प्रवेशको कार्यक्रम सघन बनाउँदै लग्नुपरेको छ,' सिरहाको विष्णुपुर गाउँपालिकाअन्तर्गत विष्णुपुर बजारमा फोरम नेपालले सोमबार दिउँसो आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले भने,' मधेसीहरुको अधिकार प्राप्तिको लडाईं जारी छ। चुनाव पनि आन्दोलनको मोर्चा रहेकाले त्यसमार्फत् पनि अधिकारको खोजी गर्न सहभागी बनेका हौं।'

मधेसीको गुमेको अधिकार पुनःस्थपना गर्न चुनावमा जानुको विकल्प नरहेको यादवले बताए। ‘संविधान संशोधनको लागि पनि हामीले आफ्नो गुमेको अधिकार चुनावमार्फत पुनः स्थापना गर्न जरुरी छ’ उनले भने ‘मधेसवादी सबै दलहरुलाई पनि चुनावमा होमिन आह्वान गर्दछु।’

अध्यक्ष यादवले राज्यले मधेसी जनातामाथि वर्षाएको बुलेटको जवाफ व्यालेटबाट दिने बेला आएको बताए। उनले चुनावको विकल्प नरहेकाले आफ्नो पार्टी दोस्रो चरणको चुनावका लागि तयार रहेको र अन्य मधेसवादी दलहरुलाई पनि चुनावको उपयोग गर्न आग्रह गरे।

अध्यक्ष यादवले अहिले गणतन्त्र र संघीयता विरोधी शक्तिहरु सलबलाउन थालेकाले संघीयताको रक्षाका लागि चुनावबाट नयाँ शक्ति आर्जन गर्नु जरुरी रहेको बताए। ‘मधेस आन्दोलनकै बलमा स्थापना भएको संघीयता भाँड्न विभिन्न तत्वहरु सक्रिय हुन थालेकाले त्यसलाई परास्त गर्न जनादेश प्राप्तिका लागि चुनावमा गएका हौं।’

फोरमका सिरहा जिल्ला अध्यक्ष बादल प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री राजलाल यादव, शत्रुधनप्रसाद सिंह कोइरी, सांसद तथा केन्द्रीय सदस्य वीरेन्द्र प्रसाद महतो लगायतले आफ्नो धारणा राखेका थिए। चर्को घाम र गर्मीका बावजुद यादवको धारणा बुझ्न कार्यक्रम स्थलमा उल्लेख्य जनसहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.