|

काठमाडौँ: पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत बैशाख ३१ गते भएको निर्वाचनको मत परिणाम लगभग आइसकेको छ। तर यो निर्वाचनको मुख्य केन्द्रविन्दुमा रहेका चार महानगरपालिकाको मत परिणाम आइपुग्न अझै केही दिन लाग्ने देखिन्छ।

काठमाडौँ, ललितपुर, पोखरा लेखनाथ र भरतपुर महानगरपालिकामध्ये उम्मेदवार तथा केन्द्रका हिसाबले काठमाडौँ र भरतपुर महानगरलाई विशेष चासोका रूपमा लिइएको छ। काठमाडौँ महानगरपालिकाको मतगणना काठमाडौँस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ। आठ दिनदेखि जारी मत गणनाको हालसम्मको मतपरिणाम हेर्दा एकखाले अड्कलबाजी गर्न थालिएको छ।

काठमाडौँ महानगरका विषयमा भन्ने हो भने मुख्य प्रतिस्पर्धा काठमाडौँमा नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा रहेको छ। सोमबार मध्यरातसम्म आइपुग्दा नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगर प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य नेपाली कांग्रेसका तर्फबाट महानगर प्रमुखका उम्मेदवार राजुराज जोशीभन्दा झण्डै १० हजार मतले अगाडि देखिन्छन्।

यस्तो अवस्थामा महानगर प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य के सोचिरहेका होलान्? उनलाई कस्ता प्रतिक्रिया आइरहेका होलान्? भनेर हामीले बुझ्ने कोसिस गरेका छौँ।

अहिलेसम्म सोचेजस्तो परिणाम देखिएन

एक उम्मेदवारको हिसाबले आफ्ना केही व्यक्तिगत कुरा पनि रहन सक्ने भन्दै शाक्यले आफू नेकपा एमालेको पार्टी प्रतिनिधि पनि भएको बताए। 'मसँग दुवै जिम्मेवारी छन्। सबैभन्दा पहिले मैले भुल्न नहुने कुरा अहिलेसम्म म पार्टीको प्रतिनिधि हुँ' शाक्यले भने, 'अहिले काठमाडौँ महानगरको मेयरमा जित्‍ने भनेको एमालेको प्रतिनिधिले जित्‍ने हो। जितिसकेपछि हाम्रो अलिकति भूमिका परिवर्तन हुन्छ। त्यसबेला पार्टीको प्रतिनिधि, पार्टीको नीति सँगसँगै अन्य मतदाताको भावनाको पनि कदर गर्नुपर्छ।'

उनले आफू एक जनप्रतिनिधि भएका कारण जनप्रतिनिधि भइसकेछि काम गर्ने शैली अलिकति फरक हुने बताए। 'हामीले पार्टीलाई मात्रै हेरेर हुँदैन। सबै पार्टीका मतदाता, जनतालाई हेर्नुपर्ने हुन्छ', उनले भने। 

आफूले चुनावमा होमिइरहँदा जुन किसिमको सहजता महसुस गरेको हो, यसपालि एमालेले जित्छ भन्‍ने, अहिलेसम्मको परिणाम  हेर्दा जित्‍ने किसिमको परिणाम आएको उनी बताउँछन्। उनी भन्छन्, 'तर हामीले जुन किसिमले सोचेका थियौँ, त्यहीअनुसार भने मत आएन।' 

२०/२५ हजारको मत अन्तरले चुनाव जित्ने सोचेका थिए रे उनले। 'तर अहिलेसम्म त्यसअनुसार मत देखिएन', शाक्यले भने, 'अन्य पार्टीले मत काटेको पनि आफ्नो ठाउँमा देखियो।' प्रतिस्पर्धामा आउने जो कसैले पनि म जित्छु नै भनेर चुनावमा आउनु स्वाभाविकै भएको उनको बुझाइ छ। अहिलेको निर्वाचनमा जुन हिसाबले मत बदर भएको छ, त्यो हिसाबले मत बदर होला भन्‍ने लागेको थिएन रे शाक्यलाई। 'त्यो बदर मतको संख्या हामीले घटाउन सक्थ्यौँ तर घट्न सकेन भन्‍ने लागेको छ', उनले भने। 

मतदाता बधाई दिन आतुर छन्

अहिले फोन फ्लो निकै बढेको हुँदा नेताहरू धैर्यका साथ बसिरहेको उनको भनाइ छ। पहिले परिणाम आअोस् भनेर नेताहरू पर्खिरहेको उनले बताए। 'तर जो मतदाता, कार्यकर्ता हुनुहुन्छ, उहाँहरू हतारिइसक्नुभएको छ', शाक्यले भने, 'उहाँहरूले तपाईंले जितिसक्नुभयो। तपाईंले अब पर्खनै पर्दैन, घोषणा गरे हुन्छ भनिरहनुभएको छ।'

अझै पनि धेरै मत गणना गर्न बाँकी भएकाले त्यसमा पनि आफ्नो मत बढ्छ भन्‍ने अपेक्षा उनमा बाँकी नै रहेछ। शाक्यले भने, 'प्रतिस्पर्धीमा पनि निश्‍चित रूपमा मत गणना हुँदा मेरो बढ्छ भन्ने हुन्छ नै, त्यो स्वाभाविकै हो।' त्यसकारण पनि परिणाम नआइपुग्दासम्म हतारिन आवश्यक नभएको र शुभकामना दिनेहरूलाई अझै बेला भएको छैन भन्दै अझै एक हप्ता पर्खन भनेका रहेछन् शाक्यले।

प्रतिस्पर्धीको मत स्वाभाविक

काठमाडौँ महानगरमा सबै जित्छौँ भनेर आफूहरूले नभनेको उनले बताए। 'हामीले मेयरमा जित्छौँ भनेका छौँ। सबै वडामा जित्छौँ भनेर भनेका छैनौँ', शाक्यले भने 'बहुसंख्यक वडामा जित्छौँ भनेर हामीले भनेका छौँ। उहाँहरूले यो-यो वडामा हामीले जित्छौँ भनेर आँकलन गर्नुभएको छ। त्यसकारण त्यहाँ भोट जानु अस्वाभाविक होइन।'

बहुसंख्यक वडासहित मेयर जित्ने पूर्वानुमान

एमालेले जित्‍ने ठाउँमा कति मतको अन्तरले जित्ने हो र अन्यले कति मतले हार्ने हो? त्यसमा समग्रमा मेयरमा एमालेले जित्ने पूर्वानुमान थियो रे! 'वडाहरूमा बहुसंख्यक वडा पनि जित्‍नुपर्छ भनेर हामी लागेका थियौँ। अहिले पनि ट्रेण्ड हेर्दाखेरि जितिन्छ कि भन्ने नै लागेको छ', उनले भने।

एलायन्स सफल नहुँदा अप्ठ्यारो

शाक्यका अनुसार वडाहरूमा एमालेले कम्तिमा पनि २० वटा वडा जित्छ भन्ने अनुमान थियो रे! 'मेयर नि जित्छौँ र अन्य स्थानमा बहुमत पुग्नेगरी वडाहरू जित्छौँ भनेका थियौँ', शाक्यले भने, 'अझ हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग भएको चुनावी एलायन्सअनुसार उपमेयरलाई पनि जिताउने कोशिस गरेका हौँ।'

राप्रपाका उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा उठाइएको र आफू पनि एमाले-राप्रपाको साझा उम्मेदवार भएकाले त्यसअनुसार नै मतदातालाई प्रशिक्षण दिन नसक्दा र सम्झाउन नसक्दा धेरै मत बदर भएका उनले बताए। 'यदि ती बदर भएका मत गनिने अवस्था आयो भने हामीले उपमेयरमा उठाएका साझा उम्मेदवार राजारामजीले जित्‍नुपर्ने हो', शाक्यको दाबी छ, 'त्यो बदर भएको कारणले जिताउन नसकिने भयो। त्यसमा अलिकति अप्ठ्यारो र असजिलो लागिरहेको छ।' 

मत पार्टी र व्यक्ति दुवैलाई

पहिलो कुरा जहिले पनि पार्टी भएको र त्यसपछि मात्र व्यक्ति भएको भन्दै शाक्य ती दुवै कुरा पार्टी पनि र व्यक्ति पनि हेरेर जनताले मत हालेको होला भन्ने अनुमान गर्छन्। 'चुनावमा जाँदै गर्दा नेकपा एमालेले मात्र होइन, नेपाली कांग्रेसले पनि ती पार्टीका उम्मेदवारले त्यति मत ल्याउलान् भन्ने अनुमान गरेका थिएनन्', शाक्य भन्छन्, 'सायद जो उम्मेदवार हुनुहुन्छ, उहाँहरूले पनि त्यति मत ल्याउने अनुमान गर्नुभएको थिएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.