|

लहान : सिरहाको कल्याणपुर सिरहा सडक खण्डमा पर्ने भोक्राहास्थित भेडवा नदीमा निर्माणाधीन पुलको काम सुरु भएको दुई वर्ष बित्दा पनि पूरा नहुँदा स्थानीयहरु चिन्तित छन्।

साझेदार संस्था र समुदायिक संस्थाको विवादले त्यस भेगका बासिन्दाको यो वर्षातअगावै पुल निर्माण सम्पन्न हुने आशा पूरा नहुने भएको छ। दुवैको आपसी विवादले पुल निर्माणको काम सुचारु हुन नसकेपछि स्थानीय बासिन्दा थप निराश बनेका छन्।

सिरहाको पश्चिमवर्ती बिसनपुर, चिकना, भोक्राहा, भेडिया, सिक्रौन, गौताडी लगायतका ठाउँका बासिन्दा दैनिक ओहोर दोहोर गर्ने भेडवा खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दा अझै पानीमा हेलिएर वारपार गर्न बाध्य छन्।

पुल नहुँदा वर्षा याममा उक्त भेगका बासिन्दाहरुको ओहोर दोहोर मात्र बन्द हुँदैन, खोला पारि रहेको विद्यालयसमेत करिब तीन महिनासम्म प्रभावित हुने गरेको गाउँलेहरु बताउँछन्। वर्षातको बेला पुल अभावमा आवतजावत रोकिनुको साथै विद्यार्थीहरु विद्यालय जानबाट समेत वञ्चित हुने गरेको भोक्राहाका स्थानीय जयनारायण साहले बताए।

गरिबी निवारण कोषको आर्थिक सहयोग एवं स्थानीय साझेदार संस्था गरिबी निवारण, वातावरण संरक्षण तथा महिला कल्याण केन्द्र मिर्चैैयाको प्राविधिक सहयोगमा दुई वर्ष अघिदेखि पुलको निर्माण थालिएको हो।

कोषको करिब २१ लाख ४० हजार रुपैयाँको लागतमा डेढ किलोमिटर बाटोसँगै उक्त पुलको निर्माण कार्य पूरा गर्ने गरी साझेदार संस्थासँग सम्झौता भई पुल निर्माण थालिएको थियो।

बजेट स्वीकृतसँगै पुल निर्माणको काम अन्तिम चरणमा पुगिसक्दा समेत समुदायिक संस्थाले कवोल गरेको करिब ५ लाख ३५ हजारको जनश्रमदान नदिँदा पुल निर्माण कार्य रोकिएको साझेदार संस्था गरिबी निवारण,

वातावरण संरक्षण तथा महिला कल्याण केन्द्र मिर्चैयाका कार्यक्रम संयोजक जितेन्द्र कुमार सिंहले उल्लेख गरे। स्थानीयहरुसँग छलफल भइरहेकाले चालु आर्थिक वर्षको अन्तिमसम्म भए पनि पुलको निर्माण कार्य सम्पन्न हुने संयोजक सिंहले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.