|

रुपन्देही : सरकारले मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियान चलाइरहेको बेला विद्युत् आपूर्ति अनियमित हुँदा रुपन्देहीका बासिन्दा मर्कामा परेका छन्। दुई महिना अघिदेखि रुपन्देहीमा ट्रिपिङ र लो भोल्टेजको समस्या भइरहेको भए पनि समाधानमा चासो नदेखाएको स्थानीयको गुनासो छ। 

‘आधा–आधा घण्टामा लाइन आउने जाने भइरहेको छ,–बुटवल मिलनचोकका राजेश खतिवडा भन्छन्–‘लो भोल्टेजका कारण मोटरबाट पानी तान्न रातभर अनिदो बस्नुपर्छ।’ स्थानीयको गुनासो छ–ट्रिपिङ र लो भोल्टेजले घरका फ्रिज, मोटर, पंखा, टिभी, कम्प्युटर बिग्रिएका छन्।’

समस्या सर्वसाधारणलाई मात्रै हैन, उद्योगी व्यवसायी पनि उस्तै समस्या छ। यही पीरमर्का सुनाउन तिलोत्तमा उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीको ताँती लिएर विद्युत् प्राधिकरणको बुटवल कार्यालय पुग्यो।

‘हामीले हाम्रा गुनासा सुनायौं, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले भने–‘२ महिनाअघिदेखि लो भोल्टेज र ट्रिपिङको समस्याले उद्योगधन्दा सञ्चालन गर्नै नसकिने अवस्था आयो, यसको समाधान खोज्न आग्रह गरेका छौं।’ उद्योगी व्यवसायीको गुनासोलाई स्वाभाविक ठानेको विद्युत् प्राधिकरण आपूर्तिमै समस्या रहेको बताउँछ। 

‘भारतबाट आउने विद्युत् कम आइरहेको र गण्डक पावर हाउसबाट आवश्यक विद्युत् उत्पादन नहुँदा बुटवलमा ट्रिपिङ र लो भोल्टेजको समस्या देखिएको हो’ नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख सञ्जय कुमार मिश्रले भने।

प्राधिकरणका अनुसार गण्डक नहर र भारतबाट आउने विद्युत् आयातमा कमी हुँदा बुटवलमा अनियमित विद्युत् आपूर्ति भइरहेको छ।

भारतले पानी बन्द गरेका कारण गण्डक पावर हाउसबाट आउने विद्युत कम आएको र भारतबाट आयात भएको विद्युत आधाभन्दा कम आएका कारण बुटवलमा ट्रिपिङ र लो भोल्टेजको समस्या हुँदै आएको उनको भनाइ छ। 

भारतले नहर सफा गर्ने बहानामा दुई महिना अगाडिदेखि गण्डक पावर हाउसमा पानी दिएको छैन। जसका कारण बुटवल क्षेत्रमा आउने नियमित विद्युत् आपुर्तिमा समस्या छ।

अहिले भारतको रामनगरबाट बुटवल योगिकुटी ग्रिड सव स्टेसनमा पहिले ४० मेगावाट आउने गरेकोमा अहिले २५ मेगावाट मात्र आएको प्राधिकरण बताउँछ। गण्डक पावर हाउसमा ५ मेगावाट क्षमताका ३ वटा टर्वाइनबाट १५ मेगावाट विद्युत् उत्पादन हुने भए पनि अहिले भने २ वटा टर्वाइन मात्रै चलिरहेका छन्।  

नेपाल विद्युत् प्राधिकरणले भारतलाई गण्डक पावर हाउसमा जाने पानी खोल्न बारम्बार आग्रह गरे पनि अटेर गर्दै आएको छ। वितरण कार्यालयका प्रमुख मिश्रले अबको एक हप्तामा समस्या समाधानका लागि काम सुरु गर्ने र जेठको २५ गतेपछि मात्र ट्रिपिङ र लो भोल्टेजको समस्या हट्ने बताए।

‘यो समस्या विद्युत् प्राधिकरणको प्राविधिक समस्याका कारण उत्पन्न भएको हैन, उनले भने, यो समस्या समाधानका लागि प्राधिकरणकै केन्द्रले चासो देखाइरहेको छ, यसमा छिटै समाधान हुने हामीले जानकारी पाएका छौं, विगतका वर्षमा यतिबेला चर्को लोडसेडिङको समस्या थियो, अहिले केही समाधान भएको छ, जेठभित्रै यो समस्या समाधान हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.