|

चितवन : अस्ट्रियामा रहेको एक दम्पती इलमर मुलर र माया मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकाहरुलाई सहयोग जुटाउने अभियान थाले। चितवनको माडीकी माया र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिका विपत्तिले मन छोयो। उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे’।

उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका बेला मःमः र समोसा बेचेर आर्थिक संकलन सुरु गरे। त्यहीकामबाट आएको रकमले नेपालका विभिन्न क्षेत्रमा पीडामा परेकाहरुलाई सहयोग गर्न थाले। यो क्रम आजसम्मै जारी छ। त्योबेला भूकम्पमा गएकाहरुलाई सहयोग गर्ने थियो, अब निरन्तर विपन्नहरुलाई सहयोग गर्ने सोच बनाएको मायाको भनाई छ।

सोमबार मात्रै उनीहरुले चितवनको रत्ननगरस्थित चेपाङ बालबालिकाका लागि रु ३ लाख ५ हजार भन्दा बढीको विभिन्न सामाग्रीहरु सहयोग गरेका छन्। सहयोग गर्न अस्ट्रियाबाट इलमर मुलर आफैं नेपाल आएका छन्।

उनले रत्ननगरमा रहेको गाँमबेंसी चेपाङ केन्द्रमा बसेर अध्ययन गर्न थालेका बालबालिकाहरुलाई २ तह भएको १५ थान फलामे ओछ्यान र विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेका छन्। उक्त समाग्री रु ३ लाख ५ हजारको रहेको स्थानिय समाजसेवी शीरलाल परियारको भनाइ छ।

परियारका अनुसार आज बेडसहित चामल, नुन, चिउरा, भुजा लगायतका सामाग्री सहयोग गरिएको छ। यसअघि उनीहरुले ती बालबालिकाका लागि १०÷१२ लाख बराबरको डाइनिङ हल, भान्छाकोठा निर्माण गरेका छन् भने पटक–पटक खाद्यान्न सहयोग र लत्ताकपडाहरु सहयोग गरेका सो क्रममा जानकारी दिइएको थियो।

सामाग्री हस्तान्तरणपछि इलमर मुलरले आफ्नो देशमा साथीहरु मिलेर संकलन गरेको रकम ल्याएर नेपालका विपन्न चेपाङहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

इलमरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाएका छन्। उक्त कार्यक्रमलाई लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले संयोजन गरेको हो। सौराहा लायन्सकी इलेक्टेड प्रेसिडेन्ट सुजाता विष्टले विदेशमा मःमः र समोसा बेचेर नेपालका विपन्नहरुलाई सहयोग गर्ने अभियानको प्रशंसा गरे।

सो क्रममा अर्का समाजसेवी सन्तबहादुर केसीले उनीहरुको लागि रु ५ हजार रकम सहयोगसमेत गरे। सो क्रममा सौराहा लियोका अध्यक्ष भीम अधिकारी तथा सन्तबहादुर केसीले विपन्नलाई सहयोग गर्न आफैंमा महत्वपूर्ण भएको प्रतिक्रिया दिए।

इलमर र माया मुलर मिलेर यसअघि चितवनका कविलासस्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेमा जस्तापाता, खाद्यान्न बढीको सहयोग गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.