|

काठमाडौँ: नेपाली कांग्रेसको साधारण सदस्यता नै नलिएका अर्कै पार्टीका अध्यक्ष कांग्रेसबाटै चुनाव लडेर गाउँपालिकाको अध्यक्ष भएका छन् भन्दा धेरैलाई पत्यार नलाग्ला। तर कुरा सत्य हो।

सामाजिक लोकतान्त्रिक पार्टीको अध्यक्ष मण्डलका सदस्य निमा ग्याल्जेन शेर्पा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाको अध्यक्ष भएका छन्।

कांग्रेसको साधारण सदस्यता नै नलिएका शेर्पा हेलम्बु गाउँपालिका क्षेत्रका लोकप्रिय व्यक्ति पनि हुन्। कांग्रेसको स्थानीय तहले शेर्पाको नाम गाउँपालिका अध्यक्ष उम्मेदवारको रूपमा सिफारिस गरेपछि उनैले टिकट पाएका हुन्। सिन्धुपाल्चोकका एक नेता भन्छन्, ‘पार्टीमा प्रवेश गर्ने समय नै मिलेन, चुनाव प्रचारमा क्रियाशील हुनुभयो।’

शेर्पा लामो समय कांग्रेसमै रहेर राजनीति गरेका व्यक्ति हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका शेर्पा माओवादीका उम्मेदवार दावा लामासँग पराजित भएका थिए।

शेर्पा कांग्रेसको काठमाडौँमा सम्पन्न २०६७ सालको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पनि थिए। तर कांग्रेसका पूर्व सांसद कुमार राईको सक्रियतामा गठित सामाजिक लोकतान्त्रिक पार्टीको अध्यक्ष मण्डलका सदस्य पनि भए। स्थानीय तहको निर्वाचनमा हेलम्बु गाउँपालिकाबाट प्रमुखमा प्रतिष्पर्धा गर्ने योजना बनाएका शेर्पाले आफ्नो पार्टीको प्रभाव न्यून भएको भन्दै पार्टीभित्र पनि गुनासो गरेका थिए।

वैकल्पिक राजनीतिक पार्टीको खोजीमा शेर्पाले संघीय समाजवादी फोरमसँग पनि टिकट दिन आग्रह गरेका थिए। ‘हाम्रो पार्टीको तर्फबाट टिकट दिनुपर्‍यो, म हेलम्बु गाउँपालिकाको प्रमुखमा चुनाव लड्छु भन्दै थिए तर हाम्रो पार्टीको निर्णयलाई कुर्नै सकेनन्, कांग्रेसमा गएछन्’, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले थाहाखबरसँग भने।

सिन्धुपाल्चोकका १३ स्थानीय तहमध्ये कांग्रेसले हेलम्बुसहित तीन तहमा मात्र विजय हासिल गरेको छ। ‘सामाजिक लोकतान्त्रिक पार्टीमा के जिम्मेवारीमा हुनुहुन्थ्यो?’ भन्ने जिज्ञासमा शेर्पाको जवाफ थियो, ‘सानोतिनो जिम्मेवारी हो। कांग्रेसमै आएर चुनाव जितिसकेँ अब विगत किन चाहियो?' शेर्पाले 'के पत्रकारले सकारात्मक कुरा बाहिर ल्याउनुपर्दैन? खाली नेगेटिभ कुरा मात्र गर्ने?’ भनेर प्रतिप्रश्नसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Good News.