|

लहान : सिरहाको विष्णुपुर गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा सोमबार राति मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपलिका १२ बस्ने २६ वर्षीय जितेन्द्र दासको मृत्यु भएको प्रहरी चौकी बेलहाले जनाएको छ।

प्रहरीका अनुसार दासको स्थानीय नवीन क्लिनिकमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चढेर घरतिर फर्किंदै गर्दा सोमबार राति १० बजेतिर उनी चढेको स. ७ प ८५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए।

सिरहाकै मिर्चैया नगरपालिका ५ थाना चोक नजिकै मंगलबार बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको भारतीय नम्बर बि आर ०६ पि सी २१७५ नम्बरको भ्यानले स. ४ प ८७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेकी औरही गाउँपालिका ४ की २० वर्षीया पिङ्की महासेठ घाइते भएकी छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने भ्यानसहित चालकलाई नियन्त्रणमा लिइएको छ।

सप्तरीमा पनि घाइते

सप्तरीको राजविराज नगरपालिका ११ स्थित राजविराज–हनुमाननगर सडक खण्डमा जिल्ला सदरमुकाम राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको ज. १ च १२८१ नम्बरको स्कारपियोले बा. ३० प ५००३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार ठक्करले घाइते भएका मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ का ४० वर्षीय सुरेशकुमार माझीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने स्कारपियोसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.